काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेडले आज बुधबार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा रहेको दुई करोड सतसट्ठी लाख सत्ताइस हजार नौ सय उनन्तिस रुपैयाँ नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई हस्तान्तरण गरेको छ । 

उक्त रकम आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच बैंकका अध्यक्ष मनोज कुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरे ।

उक्त अवसरमा अर्थमन्त्री डा. खतिवडाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग नै हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा राम्रो उदाहरण भएको उल्लेख गर्दै प्राप्त रकमको सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा नै सदुपयोेग गर्ने बताए । 

यस अघि पनि बैंकले प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी छयहत्तर लाख चौबिस हजार छ सय बीस रुपैयाँ सहयोग प्रदान गरिसकेको जानकारी दिएको छ । यसरी कोरोना भाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म तीन करोड त्रिचालीस लाख बाउन्न हजार पाँच सय उनन्चास रुपैयाँ रकम सहयोग प्रदान गरेको दाबी गरेको छ । यसरी प्रदान गरिएको रकमबाट कोरोना भाइरस संक्रमण रोेकथाम तथा उपचारकाका लागि ठूलो सघाउ पुग्ने बैंकले विश्वास लिएको बताएको छ ।