काठमाण्डौ । राष्ट्रिय स्तरको निकै बलियो बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकलाई गाभेपछि विगतका त्रैमासमा खूद नाफामा निकै कमजोर देखिएको जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष ०७३/७४ को चौथो त्रैमासमा ६४ करोड १८ आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा जनता बैंकको नाफा १३ करोडमा सीमित थियो । 

खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्षसम्म ७४ करोड ७६ लाखमा सीमित यस्तो आम्दानी दुुई विकास बैंकका कारण बढेर १ अर्ब १४ करोड ३७ लाखको उचाईमा पुुगेको छ । 

यस्तै, १६ करोड १८ लाखमा सीमित संचालन मुनाफा समेत बढेर ५९ करोड १९ लाखको उचाईमा पुुगेको छ । 

बैंकले यो अवधिमा ४८ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४५ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ  । अघिल्लो वर्ष २४ अर्ब निक्षेप संकलन गरी २० अर्ब ४७ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष यही अवधिसम्म १७ करोड १० लाखमा सीमित जगेडा कोषमा समीक्षा अवधिसम्म १ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । 

दुुई राम्रा विकास बैंकलाई गाभेकै कारण खराब कर्जा अनुपात घटाउन यो बैंक सफल देखिएको छ । अघिल्लो वर्षसम्म २.३७ प्रतिशत रहेको यस्तो कर्जा घटेर २.०९ मा झरेको हो । 

अघिल्लो वर्षसम्म ४.५१ प्रतिशतमा सीमित कस्ट अफ फण्ड भने बढेर ७.९८ प्रतिशतमा पुुगेको छ।

पूँजीवृद्धिको निकै ठूलो चटारोका कारण समीक्षा अवधिमा प्रतिसेयर आम्दानी घटेर ९.१८ रुपैयाँमा झरेको छ । यस्तै, प्रति सेयर नेटवर्थ १२६.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१ गुणा कायम भएको छ ।