काठमाण्डौ । सिद्धार्थ इक्वीटी फण्डको सार्वजनिक निश्कासनमा पहिलो दिनको तुलनामा दोश्रो दिन निकै कम संख्यामा आवेदन परेको छ । प्राय अधिकांशको सार्वजनिक निश्कासनमा पहिला दिनहरु भन्दा पछिल्ला दिनहरुमा बढी भीडभाड हुने गरे पनि सिद्धार्थ क्यापिटलको यो तेश्रो म्युुचुुअल फण्डमा भने घट्दो क्रम देखिएको छ । म्युचुुअल फण्डका लागि यो राम्रो संकेत नभए पनि लगानीकर्ताका लागि भने अवसर हो । 

कोष व्यवस्थापक सिद्धार्थ क्यापिटलका अनुसार पहिलो दिन ३३ करोडको हाराहारीमा आवेदन परे पनि दोश्रो दिन भने १२ करोडको मात्र आवेदन पर्यो । यसरी पहिला २ दिनभित्र कुल ४५ करोडको मात्र आवेदन परेको छ । दोश्रो दिन देशभरबाट ६ हजार ९ सय ७० वटा आवेदन मात्र परे । 

सिद्धार्थ इक्वीटी फण्ड १० वर्षे बन्दमुखी म्युुचुुअल फण्ड हो । यो फण्डले १ अर्ब २० करोड रुपैयाँ बराबरको सार्वजनिक निश्कासन जारी गरेको हो । म्युुचुुअल फण्डको व्यवस्थापन सिद्धार्थ क्यापिटलले गरेको हो भने प्रायोजन सिद्धार्थ बैंकले । 

सिद्धार्र्थ इक्वीटीको सार्वजनिक निश्कासनमा आगामी असोज २९ गतेसम्म आवेदन दिन सकिन्छ । प्रति इकाई १० रुपैयाँ दरले न्यूनतम १ सय इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । यसको अर्थ १ हजार रुपैयाँ हुनेले समेत यसमा आवेदन दिन पाउनेछन् । अधिकतम रुपमा २४ लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ । 

कुल निश्कासित १२ करोड इकाईमध्ये १ करोड ८० लाख इकाई सिद्धार्थ बैंकका लागि छुट्याइएको छ भने बाँकी १० करोड २० लाख सर्वसाधारणका लागि । 

इच्छुुक लगानीकर्ताले सिद्धार्थ क्यापिटलको काठमाण्डौ, नक्सालस्थित मुख्य कार्यालय र देशभरका आस्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्थाका कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।