काठमाण्डौ । सिद्धार्थ बैंकले ६ महिनापछि पुनः अर्को ऋणपत्र निश्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

करिब ६ महिनाअघि(गत मंसिर)मा निश्कासन भएको ऋणपत्रतर्फ सर्वसाधारणका लागि छुट्याइएको इकाईमध्ये करिब ११ प्रतिशत मात्र बिक्री भएको थियो । 

लगानीकर्ताबाट निकै कमजोर रेसपोन्स पाए पनि बैंकले पहिलाको साइजमा २५ करोड रुपैयाँ थपेर कुल २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको प्रक्रिया अगाडि बढाएको हो । 

यो बैंकले ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गर्ने भएको हो । 

बैंकले '१०.२५% एसबिएल डिवेञ्चर-२०८३' निश्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

बैंकले प्रस्ताव गरेको ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशतको दरले ब्याज पाइनेछ । ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । 

प्रति इकाई १००० दरले निश्कासन हुने कुल ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि र बाँकी रहेको १५ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकको योजना छ । 

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटलले काम गर्नेछ । 

पछिल्लो समय वाणिज्य बैंकहरुले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन् । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट ऋणपत्र निश्कासन गरी लङटर्म प्रकृतिको स्रोत व्यवस्थापन गर्न भनेपछि वाणिज्य बैंकहरु यो उपकरणतर्फ आकर्षित भएका हुन् । 

ऋणपत्र निश्कासनको बाध्यता नै आएपछि एकपछि अर्को गर्दै वाणिज्य बैंकले निश्कासन गरिरहेका भए पनि लगानीकर्ताबाट भने राम्रो रेसपोन्स आउन सकेको छैन । 

अस्थिर वित्तीय ब्याजदर, उतारचढावपूर्ण ब्याजदर लगायतका कारणले समेत लगानीकर्ताहरु लामो अवधिको यस्तो उपकरणमा लगानी गर्न खुलेर आइसकेका छैनन् । 

यस्ता उपकरणहरुमा लामो समयसम्म एउटै दरमा ब्याज पाइने भएकोले रिटर्नको ग्यारेण्टी हुन्छ भने दोश्रो बजारमा जस्तो जोखिम बहन गर्नुपर्दैन । किनेको ऋणपत्र दोश्रो बजारमा कारोबारमा आएको खण्डमा बेचेर चाहेको बेला लगानीलाई तरल समेत बनाउन सकिन्छ । 

बैंकहरुले लामो अवधिका लागि कर्जा दिइरहे पनि लामो अवधिको निक्षेप र यस्तै प्रकृतिको उपकरण जारी नगर्दा उनीहरुको दायीत्व र सम्पत्तिको मिसम्याच बढिरहेका कारण पनि पछिल्लो समय ऋणपत्र निश्कासनको लहर चलेको हो । 

नेपाल राष्टबैंकले मौद्रिक नीतिमार्फत ऋणपत्र निश्कासन सम्बन्धी निर्देशिकामा केही लचिलो व्यवस्था गरिदिएपछि एकपछि अर्को ऋणपत्रमा लगानीको अवसर सिर्जना भएको हो । 

ऋणपत्र जारी गर्दा निश्चित प्रतिशत ब्याज दिए पुग्छ। ऋणपत्रलाई पूँजी कोष अनुपातमा मिलाउन पाइने भएकाले बैंकहरुले पछिल्लो समय ऋणपत्रलाई रुचाउन थालेका हुन्।

यसअघि सिद्धार्थ बैंकले ६ महिनाअघि(गत मंसिर २३ देखि) २ अर्ब २५ करोड रुपैयाँको ७ वर्षे अवधिको ऋणपत्र निश्कासन गरेको थियो । 

यो ऋणपत्रमा सर्वसाधारणका लागि सुरक्षित ४५ करोड रुपैयाँमध्ये ५ करोड रुपैयाँ बराबरको इकाई मात्र बिक्री भएको थियो ।