काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ‘१०.२५% एसबीएल डिबेन्चर २०८३’ का २५ लाख कित्ता भदौ ५ गतेबाट निष्कासन गरिने भएको छ ।

गत साउन १४ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले सात वर्ष अवधि तथा वार्षिक १०.२५% ब्याजदर भएको रु २ अर्ब ५० करोड मूल्यबराबरका कित्ताहरुको निष्कासन गर्न लागेको हो । प्रतिडिबेन्चर रु १ हजार अंकित २५ लाख कित्तामध्ये १५ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ५० करोड ऋणपुँजी रकम परिचत्र विधिबाट र १० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ऋणपुँजी रकम (५% अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिन लागेको हो ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् ।

निष्कासन छिटोमा भदौ ९ गते र ढिलामा असोज ५ गते बन्द हुनेछ । 
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड तोकिएको छ ।