काठमाण्डौ । उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रिया र गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारितजस्ता मुख्य अजेन्डासहित सिद्धार्थ बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिक साधारणसभाको मिति तय गरेको छ।

बैंकको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो । जसअनुसार बैंकले कात्तिक ७ गते काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आफ्नो वार्षिक साधारणसभा गर्दैछ ।

वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा रहेको अन्य कुनै उपयुक्त बैंक वा वित्तीय संस्था आपसमा गाभ्ने/गाभिने (मर्ज) तथा कुनै उपयुक्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने अजेन्डा पारित गर्ने छ । यसका लागि बैंकको चल–अचल सम्पत्ति र दायित्व तथा कारोकारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गने, गाभ्ने र गाभिने तथा प्राप्त गर्ने सम्बनधी समझदारीपत्र तर्जुमा गर्ने र अन्य आवश्यक प्रक्रिया पूरा गरी सोमार हस्ताक्षर गर्ने प्रस्ताव पारित गर्नेछ ।

वार्षिक साधारणसभामा बैंकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्तपुँजी ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँको १० प्रतिशतले हुन आउने ८८ करोड ८७ लाख ६० हजार ४५४ रुपैयाँबराबरको बोनस सेयर पारित गर्ने छ । त्यसैगरी लाभांश करसहित चुक्तापुँजीको १५.२६ प्रतिशतले हुन आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार ११४ रुपैयाँबराबरको नगद लाभांश गर्ने प्रस्ताव पनि पारित हुनेछ । 

वार्षिकसाधारणसभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनजस्ता महत्वपूर्ण प्रस्ताव पनि पारित गर्नेछ ।