काठमाण्डौ । नेपाल लाइफ र फरवार्ड माइक्रो फाइनान्सको एफपीओ आइपीओको बाँडफाँड फागुन १३ भित्र सक्न धितोपत्र बोर्डले निर्देशन दिएपछि समता माइक्रो फाइनान्स र सिनर्जी पावर डेभलपमेन्ट लिमीटेडको आइपीओ भरेका लगानीकर्ताहरुको एउटै जिज्ञासा थियो–‘समता र सिनर्जीको बाँडफाँड चाँडो टुुंग्याउने बिषयमा बोर्ड किन मौन बसेको ?’

अब लगानीकर्ताले यस्तो गुनासो गर्नुपर्ने छैन, कारण समता माइक्रो फाइनान्स र सिनर्जी पावरले यही साताभित्र आइपीओको बाँडफाँडको काम सक्ने भएका छन् । 

दुवै कम्पनीले पुसमा आइपीओ जारी गरेका थिए । समता माइक्रो फाइनान्सको आइपीओ निश्कासन तथा व्यवस्थापनमा एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडले बिक्री प्रबन्धकको रुपमा काम गरेको थियो । एनआइबिएल क्यापिटलका एक अधिकारीका अनुसार समता माइक्रो फाइनान्सको आइपीओको बाँडफाँड फागुन ४ गते हुनेछ । यो कम्पनीले ९४ लाख ८० हजार मूल्यको आइपीओ जारी गर्दा त्यसमा कुल २९ हजार २ सय आवेदकबाट १ अर्ब ८७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । 

यस्तै, मागको तुलनामा ३५ गुणा बढी आवेदन परेको सिनर्जी पावरको आइपीओको अन्तिम बाँडफाँडको काम समेत यसै साता सकिनेछ । यो कम्पनीको आइपीओमा देशभरबाट १ लाख २८ हजार ५ सय ८० जनाले ६ अर्ब ८१ करोड बराबरको आवेदन दिएका थिए । यो कम्पनीले आइपीओ जारी गरेको मितिदेखि ५० दिनभित्र बाँडफाँड गरिसक्नुपर्छ, त्यो मिति फागुन ५ गते सकिँदैछ । 

जानकारहरुका अनुसार यी दुुई कम्पनीको आइपीओको बाँडफाँडपछि ८ अर्ब बढी रकम बैकिंग प्रणालीमा फर्किनेछ । यसले समेत तरलताको सकसमा केही न केही राहात हुने दाबी गरिएको छ।