काठमाण्डौ । कोरोना महामारीले सिन्धु विकास बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को कारोबारमा व्यापक नकारात्मक प्रभाव पारेको छ। 

बैंकको आइतबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक भएको छ। अघिल्लो वर्ष ३ करोड ९२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको बैंकको समीक्षा अवधिमा ५५ करोड ८६ लाख रुपैयाँ ऋणात्मक भएको छ। 

समीक्षा अवधिसम्म बैंकको खुद नाफा ६१.७२ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यो अवधिसम्म ४ करोड ३५ लाख रुपैयाँ कमाएको बैंकको नाफा समीक्षा अवधिसम्म घटेर १ करोड ६६ लाख रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ६ करोड २२ लाख रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी भने बढेर १४ करोड ४३ लाख रुपैयाँ भएको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १३ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

बैंकले समीक्षा अवधिमा २ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ३४.४६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ३ करोड ८८ लाख रुपैयाँको रिजर्भको आकार समीक्षा अवधिमा बढेर ५ करोड २१ लाख रुपैयाँको उचाइमा पुगेको छ।

यो अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात बढेर १.७१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो अनुपात १.६३ प्रतिशत रहेको थियो। बैंकको आधार दर भने ११.९४ प्रतिशतबाट घटेर १०.२६ प्रतिशतमा सीमित बनेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २.९९ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४४.८१ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्ट १०९.८० रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७१५.०१ रुपैयाँ रहेको छ।