काठमाण्डौ । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले चितवन जिल्लाको विकासचोकमा बैंकको शाखा स्थापना गरेको छ ।

विकासचोक शाखाको चितवन उद्योग बाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले बैंकको हाल सम्मको प्रगती तथा भावी कार्यक्रमका बारेमा आफ्नो मन्तव्य राखेका थिए।

बैंकले निकट भविष्यमा नै चितवन जिल्लाको नारायणगढ, चनौली, लाहुरे चोक र मकवानपुर जिल्लाको हेटौडा बजारलगायत विभिन्न स्थानहरुमा बैंकको शाखा तथा सिमित बैंकिङ्ग ईकाई कार्यालय स्थापना गर्दैछ ।

प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालयसहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग र विकासचोक गरी कुल १८ शाखा तथा सुकेटे तथा सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २० स्थानबाट वित्तिय सेवा प्रदान गरिरहेको छ ।