काठमाण्डौ । लाभांश अनुमोदन मुख्य अजेन्डासहित सिन्धु विकास बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

बैंकको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले यही पुस २९ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहलमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ ।

सभामा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ । 

साधारणसभा र लाभांश प्रयोजनका लागि पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय बैंकले गरेको छ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।