काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले यसअघि गणपुरक संख्या नपुगेका कारण स्थिति गरेको १० औँ वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको छ ।

बैंकको सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले स्थगित वार्षिक साधारणसभाको मिति र स्थान पुनः तोकेको हो । जसअनुसार अब सभा यही माघ १७ गते सिन्धुपाल्चोकको बाह्रबिसेस्थित सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सभाहलमा हुनेछ ।

यसअघि सोही स्थानमा गत पुस २९ गते सभा डाकिएको थियो । तर सभा गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको थियो ।

सभामा बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफा र वितरणयोग्य अन्य कोषबाट हालसम्म कायम चुक्तापुँजीको कुल १२.०८ प्रतिशतले हुन आउने लाभांश वितरणको प्रस्ताव अनुमोदन गर्नेछ । बैंकले चुक्तापुँजी ५० करोड २७ हजार ३१६.७५ रुपैयाँको ११.५१ प्रतिशतले हुन आउने ५ करोड ७५ लाख ७२ हजार ६८२.२५ रुपैयाँबराबरको बोनस सेयर र ०.५७ प्रतिशतले हुन आउने २८ लाख ७ ८ हजार ६३४.११ रुपैयाँ नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ ।

सभामा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।