काठमाण्डौ । सिन्धुपाल्चोक मुख्य कार्यालय रहेको सिन्धुु विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको तुलनामा खूद नाफा १ करोडले बढाएको छ । 

यो बैंकले ३ करोड ७२ लाख खूद नाफा आर्जन गरेको हो, अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ७२ लाख थियो । 

बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण अघिल्लो वर्ष ६ करोड ८३ लाख रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ९ करोड ९९ लाखको उचाईमा पुुगेको छ । 

यस्तै, अघिल्लो वर्ष ४ करोड २८ लाख रहेको संचालन मुनाफा बढेर यो वर्ष ५ करोड ८५ लाख पुुगेको छ । 

यो अवधिमा बैंकले १ अर्ब ९० करोड निक्षेप संकलन गरी १ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ अर्ब १८ करोड निक्षेप संकलन गरी ८८ करोड ८९ लाख कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्षसम्म ३ करोड ५९ लाखमा सीमित रिजर्ब कोष बढेर यो वर्ष ६ करोड ९९ लाख पुुगेको छ । 

बैंकले निस्क्रिय कर्जा अनुपातलाई घटाउने सफलता पाएको छ । अघिल्लो वर्ष १.१८ प्रतिशत रहेको त्यस्तो कर्जाको अनुपात घटेर ०.८४ प्रतिशतमा झारेको हो । ३.५० प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ६.४४ प्रतिशत रहेको छ । 

यो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४.२० रुपैयाँ, प्रति सेयर नेटवर्थ १२६.६८ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य ८७०.३० रुपैयाँ र मूल्य आम्दानी अनुपात २५.७७ गुणा कायम भएको छ ।