काठमाण्डौ । सिन्धुु विकास बैंकका संस्थापक सेयरधनीले समेत किन्ने इच्छा नदेखाएका ५ लाख ३८ हजार ३ सय २.४० कित्ता सेयर बोलकबोलबाट बिक्री हुने भएको छ । 

सिन्धुु विकास बैंकले भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद सेयर निश्कासन गरेकोमा बिक्री नभएको ५ लाख ६६ हजार ८७२.४० कित्ता संस्थापक समूहतर्फको सेयर हाल कायम संस्थापक सेयरधनीलाई नै बोलकबोलबाट बिक्रीका लागि प्रस्ताव आह्वान गरिएको थियो । तर, त्यसमध्ये थोरै कित्ता खरीदका लागि मात्र संस्थापक सेयरधनीले आवेदन दिए । 

संस्थापक सेयरधनीले खरीद गर्ने इच्छा नदेखाएपछि बैंकले ५ लाख ३८ हजार ३ सय २.४० कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि सर्वसाधारणमा सूचना जारी गरेको हो । अब सर्वसाधारण जोकोहीले नबिकेको संस्थापक सेयर बोलकबोलबाट खरीद गर्न पाउनेछन् । 

सेयरको लिलामी तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमीटेडले गर्नेछ । 

इच्छुक लगानीकर्ताले माघ २ देखि १० गतेभित्र तोकिएका स्थानमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । एनआइबिएल क्यापिटलको लाजिम्पाट, काठमाण्डौस्थित मुख्य कार्यालय, ललितपुरको लगनखेलस्थित शाखा तथा पोखरास्थित अर्को शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन् । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटवल, नारायणगढ र धनगढीस्थित शाखा कार्यालयबाट समेत दरखास्त दिन सक्ने व्यवस्था मिलाइएको छ । 

इच्छुकले न्यूनतम १०० कित्ताका लागि न्यूनतम १०० रुपैयाँ मूल्य राखी आवेदन दिनसक्ने बताइएको छ । सिन्धुु विकास बैंकको संस्थापक सेयरको मूल्य हाल १०७ रुपैयाँ रहेको छ ।