काठमाण्डौ । सिभिल बैंकले किसानहरुको समृद्धिका लागि किसान समृद्धि कार्डको सुबिधा संचालनमा ल्याएको छ ।

देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिका लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढी रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुबिधा लिन खेतीयोग्य जमीनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रतिकृषक परिवार रु पाँचलाखसम्मको ऋण सुबिधा उपलब्ध गराइने बैंकले जनाएको छ । 

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नुपर्नेछ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्नेछ भने यदि खातामा भएको बचतभन्दा बढी रकम झिकेमा बैकलाई ब्याज बुझाउनुपर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खूद ब्याज रकमको गणना हुनेछ । 

‘यो ऋण सुबिधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरुलाई ओभरड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ, जुन आफूलाई रकम आवश्यक परेको बखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुबिधाको लागि कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन ।’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकाअनुसार यस सुविधाको ब्याजदरमा ५ प्रतिशत अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदरमै यो सुबिधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित बिषम परिस्थितिमा कृषि स्वरोजगारमार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुबिधा ल्याइएको बताएको छ।