काठमाण्डौ । सिभिल बैंक लिमीटेडले खूद नाफातर्फ ८५.१९ प्रतिशतको छलांग मारेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ६४ करोड ५० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ८२ लाख नाफा आर्जन गरेको थियो । 

बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ । 

सिभिल बैंकको संचालन मुनाफामा समेत भारी वृद्धि भएको छ । अघिल्लो वर्षसम्म १० करोड ५४ लाख रहेको यस्तो मुनाफा बढेर ४४ करोड १० लाखको उचाईमा पुगेको हो । यसरी संचालन मुनाफातर्फ बैंकले ३१८.२५ प्रतिशतको फड्को मारेको देखिएको छ ।  

समीक्षा अवधिमा बैंकले १ अर्ब ३७ करोड खूद ब्याज आम्दानी गरेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब १२ करोडमा सीमित थियो । 

यो अवधिमा बैंकले ४० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब ७४ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ३४ अर्ब २३ करोड निक्षेप संकलन गरी २९ अर्ब ५१ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले पनि रिजर्ब कोषलाई बलियो बनाएको छ । अघिल्लो वर्ष ७३ करोड रहेको कोषको आकार बढी १ अर्ब ४० करोडको उचाईमा पुगेको छ । 

बैंक व्यवस्थापनले ३.९६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर २.६५ प्रतिशतमा झारेको छ भने यो अवधिमा बैंकको कस्ट अफ फण्ड ८.८८ प्रतिशत, सीडी रेसियो ७५.८५ प्रतिशत, आधार ब्याजदर ११.८४ प्रतिशत रहेको छ । 

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.६४ गुणा, इक्वीटीमा प्रतिफल ८.२८ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.२५ प्रतिशत कायम भएको छ ।