काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभा एकसाथ बैशाख २७ गतेका लागि आह्वान गरेको छ । 

बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा दुवै वर्षको साधारणसभा आह्वान गरेको हो । 

कम्पनीले आर्थिक वर्ष २०७३/७४ का लागि ७४ करोड ४० लाख रुपैयाँ बराबरको १०.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ९१ रुपैयाँ बराबरको ०.५४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गर्नेछ। 

यस्तै, आर्थिक वर्ष २०७४/७५ का लागि २९ करोड ४० लाख मूल्य बराबरको ४.०५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव समेत सभामा पेश हुनेछ ।

बैंकले मर्जर र एक्वीजिसनको सबै ढोका खुल्ला राख्दै त्यसको अधिकार संचालक समितिमा प्रत्यायोजन गर्ने प्रस्ताव समेत साधारणसभामा पेश गर्ने कार्यक्रम रहेको छ । 

यो पटकको साधारणसभाले सर्वसाधारण समूह तर्फबाट ३ र संस्थापकको तर्फबाट ३ गरी जम्मा ६ संचालकको समेत निर्वाचन गर्नेछ  ।

दुवै आर्थिक वर्षको वित्तीय विवरण सभाले पेश गर्नेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिको निर्णय समेत लिनेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि बैशाख १० गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागी हुन बैशाख ९ गतेसम्म यो बैंकको सेयर किनिसक्नुपर्नेछ ।