काठमाण्डौ । “समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नेपाली बैंकहरुमै पहिलो पटक रञ्जना लिपिको प्रयोग गरी आधिकारिक परिचय पाटीको प्रयोग गरेको छ । 

बैंकको दौबहाल शाखामा बैंकले यस्तो प्रयोग गरेको हो । 

सो शाखाको उद्घाटन वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गरे । 

शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरेका थिए भने प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बिशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा अन्य विशिष्ट पदाधिकारीहरु, ललितपुर उद्योग बाणिज्य संघका पदाधिकारीहरु, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले दौबहाल क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकले थप उर्जा प्रदान गर्ने कुरा प्रस्ट पारे । रञ्जना लिपि सहितको परिचय पाटीले आफूलाई थप हर्षित बनाएको कुरा पनि बताए । 

त्यसैगरी प्रमुख अतिथि तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको बैंकिङ इतिहासको छोटो चिनारीसंगै सिभिल बैंकको उत्तरोत्तर प्रगतिको कामना गरे ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बताए ।

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले बैंक एक सामाजिक संस्था भएकोले आफ्नो शाखा भएको स्थानको मौलिक संस्कृति तथा लिपिलाई संरक्षण गर्ने हेतुले यस दौबहाल शाखाको परिचय पाटीमा यहाँको मौलिक नेवारी संस्कृतिलाई अँगाल्दै रञ्जना लिपि सहितको परिचय पाटी राखी शाखा संचालन गर्न पाउँदा आफू गौरवान्वित भएको कुरा बताए । साथै देशकै अभिभावक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा यस शाखाको उद्घाटन गर्दा आफू लगायत सम्पूर्ण सिभिल बैंक परिवार नै उत्साहित भएको कुरा पनि गरे । 

दौबहाल शाखासहित सिभिल बैंककोे कुल शाखा संख्या ८९ पुगेकोे पनि बैंकले जनाएको छ ।