काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुदा नाफा १ करोड २६ लाख आर्जन गर्न सफल भएको छ।

सस्थाको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार यो खुद नाफा गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९.२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

संस्थाको सञ्चालन मुनाफा ९३ लाख १८ हजार रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ८२ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानीबापत ५ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४ करोड ५२ लाख रुपैयाँ रहेको थियो। 

तेस्रो त्रैमासमा संस्थाले ३८ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष संस्थाले २३ करोड ५२ लाख रुपैयाँ निक्षेप संकलन गरी ८७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाको जगेडा कोषको आकार १३३.२५ प्रतिशतले बढेको छ। गत वर्ष १ करोड ६५ लाख रुपैयाँ रहेको जगेडा कोषमा बढेर ३ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा संस्थाको चुक्तापुँजीमा ११ करोड ४१ लाख रुपैयाँ रहेको छ। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १४.८२ रुपैयाँ रहेको छ। पीई रेसियो भने ७०.३० गुणा रहेको छ। 

संस्थाको निष्क्रिय कर्जा दर १.३७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा १.२९ प्रतिशत रहेको निष्क्रिय कर्जाको दर बढेर २.६६ प्रतिशत पुगेको छ।