काठमाण्डौ । सिभिल बैंक लिमिटेडले हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रतिशत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्न लागेको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको भन्दै नेपाल स्टक एक्सचेन्जले सिभिल बैंकलाई सोमबार धितोपत्र कारोबार खुल्नुअघि स्पष्टीकरण पेस गर्न भनेको थियो। सोही स्पष्टीकरण पत्र नेप्सेमा पठाउँदै सिभिल बैंकले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

नेप्सेले पठाएको स्पष्टीकरणपत्रमा सिभिल बैंकले हिमालयन बैंक लिमीटेडसँग प्राप्ति गरिदिन अनुरोध गरेको भन्ने विषय विभिन्न संचारमाध्यममा प्रकाशित भएको भन्दै सो सम्बन्धमा धितोपत्र सूचिकरण विनियमावली, २०७५ को विनियम २२ को९च० बमोजिम सूचीकृत धितोपत्रको बजार मूल्यमा असर पार्नसक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनुपर्ने भन्ने व्यवस्थाबमोजिम सोसम्बन्धी सूचना तथा जानकारी नेप्सेमा सिभिल बैंकले नपठाएको बताइएको थियो। 

यस विषयमा बैंकबाट कुनै पनि औपचारिक निर्णय नभएको र बैंकले आधिकारिक रुपमा त्यस्तो खालको कुनै पनि समाचार सम्प्रेषण नगरेको सिभिल बैंकले स्पष्ट पारेको छ। बैंकले धितोपत्र सूचीकरण विनियमावली २०७५ का विनियम २२ बमोजिम जानकारी गराउनुपर्ने सबै प्रकारका निर्णयहरु समयमै बुझाउँदै आएको र भविष्यमा जानकारी गराउने पत्रमा उल्लेख गरेको छ। 

सिभिल बैंकले नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिअनुरुप बैंकले मर्जर गर्नका लागि सम्भावित उपयुक्त बैंकहरुको खोजी गर्ने क्रममा विभिन्न बैंकहरुसँग अनौपचारिक रुपमा कुरा अगाडि बढाए पनि हालसम्म बैंकको मर्जर समिति तथा सञ्चालक समितिबाट कुनै पनि औपचारिक निर्णय नभएको पत्रमार्फत जानकारी गराएको छ। 

बैंकले सेयरमूल्यमा असर पर्ने कुनै पनि सूचना प्रवाह नगरेको तथा उक्त प्रकाशित समाचारहरुका बारेमा बैंकको कुनै आधिकारिक निर्णय नभएको पनि सिभिल बैंकले जनाएको छ।