-प्रकाश बञ्जारा
यूएई एउटा व्यक्ति सफल बन्न के आवश्यक होला ? यदि तपाईको उत्तर शिक्षा मात्र हो भने तपाई गलत पनि हुन सक्नुहुन्छ । हो शिक्षा पनि चाहिन्छ सफल व्यक्ति बन्नको लागि, तर यो शिक्षा घोकन्ते हुनुहुँदैन व्यवहारिक हुनुपर्छ, शिक्षासँगै सीप हुनुपर्छ अनि शिक्षापछिको बाँकी जीवनमा त्यही सीप प्रयोग गरेर करिअरलाई माथि लान सकिन्छ । यसै भन्छन् यी धादिङ्ग स्थायी घर भई हाल दुवईको एक होटलमा कार्यकारी तहमा काम गरिरहेका रामशरण खतिवडा । यति भनिरहँदा उनी अशिक्षित भने होईनन्। थोरै शिक्षा र धेरै सिद्धान्तले मारिवय र स्टारउड ब्रान्ड अन्तर्गत संयुक्त अरब ईमिरेट्सको प्रख्यात पाँच तारे होटल ले रोयल मेरिडियन विच रिसोर्ट एण्ड स्पाको एक्जुकेटिभ हाउसकिपरको पदमा रहेर काम गरिरहेका खतिवडा धादिङ्गको कल्लेरी ८ चङ्टारमा हुर्किएका युवा हुन् र हाल सिद्धलेख गाउँपालिका आदमटारका उनी स्थायीबासी हुन् । 

परिचयको छोटो समयमै आग्रहलाई स्वीकार गर्दै हामीलाई भेटेका खतिवडालाई बिजशालाले दुवईको अति व्यस्त र व्यवस्थित क्षेत्र मानिने दुवई मिडिया सिटिको उनको आफ्नै भिल्लामा भलाकुसारी गर्यो । र, उनीसँगै भेटिईन् उनकी जीवनसंगीनी सिना लाउव्ली खतिवडा । खतिवडालाई साथ दिने सिना पनि विश्व प्रशिद्ध होटल व्राण्ड मारिवट ईन्टरनेशनलकै मध्यपूर्व र अफ्रिका हेर्ने लोयालिटि मार्केटिङ्ग म्यानेजर रहिछन् । यी हसिलि स्वीजरल्याण्डकी युवतीसँग खतिवडाको सन् २०१३ अगस्टमा लगन जुरेको रहेछ ।

झण्डै चार घण्टाको अवधिमा खतिवडाले आफ्नो जागिरे जीवनको उत्तरचढाव, संघर्षको फेहरिस्त सुनाए । 

नन्दी मावि काठमाण्डौबाट माध्यमिक शिक्षा र पशुपति कलेज काठमाण्डौबाट उच्च शिक्षा हासिल गरेका खतिवडाले होटल लाईनमा काम गर्छु अनि यो पोजिसनमा आईपुग्छु भनेर सपनामा पनि नसोचेको बताए । रँगकर्ममा रुची राख्दै कुनै समय कलाकार सन्तोष पन्तले चलाएको टेलिसिरियलमा प्रधानमन्त्रीको पिएको रुपमा देखा पर्ने खतिवडा आज २ सयभन्दा बढी कर्मचारीका बोस हुन् । जो आजको दिनमा एउटा २४ बर्ष पुरानो सुविधासम्पन्न ५ सय ८ कोठा र १४ वटा रेस्टुरेन्ट सहितको पाँच तारे होटलको कार्यकारी समितिमा छन् र एउटा डिपार्टमेन्ट पूरै उनको निर्देशन र निगरानीमा काम गर्छ । 

सन् २००४ मा राजधानीकै याक एण्ड यति होटलमा रुम व्वाईबाट होटलियरको यात्रा थालेका यी युवाले मलेशियाको  एक टापुमा जे डब्लु मरिवट मर्कुस अनि वाइटिल होटेल एन्ड रिसोर्ट पानङ्कोर लाउट रिसोर्टमा ५ बर्ष काम गरेछन् । मलेशिया गएको ३ बर्षमै सुपरभाईजरको पदमा पदोन्नति पाएको बताउने खतिवडा कतारको दोहामा मारिवट व्राण्डकै ३ वटा होटलको प्रि ओपनिङ्ग टिममा सुपरभार्ईजर बनेर होटल खोल्न सफल भएका उनी हरेक कामलाई फरक ढँगबाट गर्ने कला हुनुपर्ने धारणा राख्छन् । 

त्यसपछि त प्रि ओपनिङ्गमा उनको माग ह्वात्तै बढेछ । कतारबाट दुवई आएर रिजकार्टन जेविआर दुवईमा १५० कोठाको न्यु विङ बुइल्डिङ प्रि ओपनिङ्गमा काम गरिसकेपछि हिल्टन ब्राण्डको सुविधासम्पन्न होटल कनराड दुवईमा व्यवस्थापकीय जिम्मेवारीसँगै एसिस्टेन्ट म्यानेजरको पदमा काम पाए । त्यसपछि ७ सय ५० कोठाको स्टारउड व्राण्डको सेराटन ग्राण्ड होटल दुवईमा हाउसकिपिङ्ग सहायक निर्देशक अर्थात असिस्टेन्ट डाईरेक्टरको अफर मिल्यो । अनि एक हिसावले आफू सफल भएको अनुभूति भएको खतिवडा बताउँछन् ।

हुन त खतिवडाको शब्दमा भन्नुपर्दा सफलता भनेको सन्तुष्टि नै हो । एउटा सफलता मिलेपछि मान्छे धेरैमा एकहप्ता सन्तुष्ट होला त्यसपछि पुन नयाँ सफलताको लागि दौडन थाल्छ । सेराटन ग्राण्ड होटलमा डेढ बर्ष काम गरेपछि खतिवडा स्टारउडकै प्रि ओपनिङ्ग होटल हावटुर सिटीको डव्लु दुवईको ओपनिङ्ग इन्चार्जका साथै अरु दुई ओपनिङ्ग होटल सेन्ट रेजिस र वेस्टिनमा समेत सहायता दिने हिसावले अनुबन्धित भएका रहेछन् । हालसम्म यी ३२बर्षे युवाले खाडीमा ९ वटा सुविधासम्पन्न पाँच तारे होटल खोल्न महत्वपूर्ण भूमिका खेलेका छन्, जुन अनुभव र नेतृत्वदायी भूमिकाकै कारण उनको निकै चाँडो चाँडो पदोन्नति भएको समेत उनी स्वयम् स्वीकार गर्छन् ।

हाम्रो देशमा अरबमा गएर कोही होटलमा काम गर्छु भन्यो भने सजिलै सोचिन्छ कि यो कि त खाना बनाउने काम गर्छ या त भाडा माझ्ने । राम शरणको जीवनमा पनि यो कुराको अनुभव रहेछ । एकताका नेपालमा आफन्तको विवाहभोजमा गएको बेला उनकै एक आफन्तले भनिहालेछन् “तँ त होटलमा काम गरेको मान्छे मिठो खाना बनाउछस् होला लु लु आज तेरै हातको खाऊँ ”।  तर, उनको जीवनमा परदेश भासिएदेखि अरुका लागि त परै जाओस्, आफ्नो लागि पनि खाना बनाउनु परेको छैन आक्कलझुक्कल बाहेक । 

“होटल भनेको आफूसँग बस्न आउने पाहुनालाई आवश्यक पर्ने सम्पूर्ण बस्न , खाना, मनोरञ्जनको सेवा दिने एउटा गन्तव्य हो भने उनीहरुलाई चाहिने सुविधाको व्यवस्थापन गर्नु चाहिँ होटलियरको काम । हामी होटलमा आउने पाहुनालाई उनीहरुकै सहजताका लागि निस्वार्थ भावले सत्कार गर्छौँ ” । होटलको विस्तृत अर्थ बुझाउँदै खतिवडाले सुनाए ।

“कम्तीमा होटल र काम सम्बन्धी थोरै सीप भए होटलहरुले सजिलै अनुबन्धित गर्छन्, तर होटल लाईनमा काम गर्न  सकारात्मक सोचाई , धैर्यधारण गर्ने शक्ति, स्वच्छ र सभ्य साथमा अरुलाई सेवा दिन रुची राख्ने जनशक्तिको आवश्यकता हुन्छ ।”  

उनको अनुभवमा नम्र बोली, कस्तो सेवा कसरी दिने भन्ने ज्ञान होटलमा काम गर्दा चाहिने न्यूनतम क्षमता हुन् । होटलियरसँग हरेक समस्याको कसरी समाधान गर्ने भन्ने ज्ञान हुन्छ, सहनशीलता तथा पाहुनालाई आफ्नो सेवामा रिझाउन सक्ने क्षमताका कारण होटलियरहरु अरुभन्दा फरक हुने पनि खतिवडा दाबी गर्छन् ।

होटल उद्योग पर्यटनसँग प्रत्यक्ष रुपमा जोडिएको छ । तपाईको अनुभवको आधारमा नेपालको पर्यटनको अवस्था कस्तो छ भन्ने बिजशालाको प्रश्नमा खतिवडा भन्छन्, “ नेपाल एउटा विश्वकै प्राकृतिक सम्पदाले धनी सुन्दर देश हो, जसलाईआधुनिकीकरण भन्दा पनि पुरातत्वको सँरक्षण र कला सँस्कृतिको सम्वद्र्धन गर्ने हो भने पर्यटनको ठूलो सम्भावना छ ।” उनको बुझाईमा नेपालमा भएका कलाहरु जस्तै काष्टकला, मूर्तिकला पुराना डिजाईनका घर तथा मन्दिरहरु अहिले देखिनै सँरक्षण गर्नु जरुरी छ ताकि भविश्यमा तीम इतिहास नबनुन् ।  आफू राजधानीमा पर्यटकको रुपमा समेत घुम्न भ्याएको बताउने खतिवडा पर्यटकलाई सोभनियरका सामान बेच्दा नेपालका पर्यटकीय क्षेत्रहरुमा ठग्ने प्रवृति बढेको र त्यसले पर्यटकलाई नराम्रो असर गर्ने बताउँछन् । “हरेक रिटेल सामानमा प्राईज ट्याग अनिवार्य टाँसेर सामान बेच्ने व्यवस्था तत्काल लागू गर्नुपर्छ, जसले पर्यटकलाई सामान खरिदमा सहज महशुस हुन्छ । 

साथै उपत्यकामा घुम्ने पर्यटकलाई सहज र फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने हिसावले हरेक १ किलोमिटर क्षेत्रमा एउटा गार्वेजविन(डस्टबिन)को व्यवस्था गर्नुपर्छ, यो राजधानीलाई  राजधानीजस्तै झल्को दिने अति महत्वपूर्ण काम हो । ” खतिवडा भन्छन् ।  

उनको अनुभव र बुझाईको आधारमा नेपालमा पर्यटकको सँख्याबढाउनको लागि गर्नुपर्ने अर्को महत्वपुर्ण काम भनेको होटलको सख्या र सेवा वृदि पनि हो । “काठमाण्डौ भनेको नेपालको मेन ल्याण्ड हो , यहाँ सुविधासम्पन्न अन्तराष्ट्रिय व्राण्डका कम्तीमा २० वटा होटल हुन जरुरी छ ” । त्यसो त युएईमा मात्र सन्२००४ देखि २०१८ सम्म १०० भन्दा बढि होटल खुलेका छन् । खतिवडाका अनुसार सेवा र सुविधाको प्रतिस्पर्धा हुदाँ होटलमा आउने पाहुनाले त्यसको राम्रो फाइदा लिन पाउनछन्  । उनको भनाईमा नेपालका होटल व्यवसायीले राम्रोसँग बुझ्नुपर्ने कुरा भनेको कस्टमर सर्भिस हो । आफूसँग आएर बस्ने पाहुनालाई के असुविधा भईरहेको छ ? सेवा र सुविधामा के विस्तार गर्न सकिन्छ ? आफूले दिएको सेवामा के थप गर्न सकिन्छ ? जस्ता सुझावहरु अनुभवी पाहुनासँग लिइरहनुपर्ने खतिवडाको सुझाव छ ।

बर्षेनी अरब मुलुकमा लाखौँ नेपाली युवा रोजगारीका लागि आउँछन् । सीप र दक्षता नहुँदा धेरैजसो नेपाली लेवरको तहमा आउनुपर्ने बाध्यता छ । हाल साउदी अरेबिया, कतार, युएईमा बग्रेल्ती होटलहरु खुल्दैछन्  र थुप्रै खुल्ने क्रममा छन् । नेपालीले यो मौकालाई कसरी हातमा लिन सक्छन् भन्ने प्रश्नमा खतिवडा भन्छन्,“कम्तीमा होटल र काम सम्बन्धी थोरै सीप भए होटलहरुले सजिलै अनुबन्धित गर्छन्, तर होटल लाईनमा काम गर्न  सकारात्मक सोचाई , धैर्यधारण गर्ने शक्ति, स्वच्छ र सभ्य साथमा अरुलाई सेवा दिन रुची राख्ने जनशक्तिको आवश्यकता हुन्छ ।” 

सामान्यतया होटलहरुले फ्रि भिसाका साथै आफूसँग आउने कामदारलाई होटलमा भर्ति नहुञ्जेलसम्मका सम्पूर्ण खर्चहरु आफैँ गर्ने गर्छन्, त्यसो हुने हुँदा काम नजानेका  जनशक्तिले राम्रो ईन्स्टिच्यूटमा सामान्य अध्ययन गरेर ईन्टर्नमा केही समय काम गरे सहजै ५ तारे होटलहरुमा अवसर पाउनसक्ने खतिवडाको भनाई छ । 

हाम्रा लाखौँ युवा बषौँ देखि खाडीमा कडा परिश्रम गर्दैछन् कति अनुभवि र दक्ष पनि छन्, तर माथिल्लो तहमा पुग्नसकेका छैनन् । यसबारे बोल्दै खतिवडा भन्छन्, “नेपालीहरु यहाँ धेरै हार्डवर्क गर्छन्, तर ग्राहक र म्यानेजमेन्ट रिझाएर माथिल्लो तहमा पुग्न स्मार्टवर्कको आवश्यकता पर्छ।”  उनका अनुसार प्रमोसन र एप्रिसियसनका लागि हरेक काम फरक ढँगले गर्नुपर्छ भने अरुभन्दा अलग देखिने प्रयास गर्नुपर्छ । 

दुःख, सँर्घष र कडा मेहेनतले खाडीमा आउने नेपालीहरु तल्लो तहमा मात्र काम गर्छन् भन्ने कमजोर सोचाई भएकाहरुका लागि गतिलो झापड हुन् यी युवा, जो विविध समस्या झेल्दै माथिल्लो तहमा पुग्न सफल भए । सफलता खोज्ने हरेक नेपालीलाई उनको एउटै सुझाव छ, “हरेक सफलताका लागि कडा परिश्रम त चाहिन्छ नै साथमा कसैले पनि रेडी बनाएर दिँदैन, आफ्नो भविष्यको रेखा आफैले कोर्नुपर्छ, निश्चित उद्देश्य लिएर सोहीअनुसार अघि बढ्नुहोस् सफलता तपाईको हातमा छ।” 

भविष्यको योजनाको बारेमा सोधिएको प्रश्नमा खतिवडाले लामो समयको अनुभवलाई सँगाल्दै आफैंले देशमा एउटा स्टार होटल चलाउने योजना रहेको पनि खुलाए ।