काठमाण्डौ । मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको तीन जिल्ले सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । 

फाइनान्सको कात्तिक ६ गते बसेको संचालक समितिको १७७ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफा रकमबाट बोनस सेयर वितरणको निर्णय गरेको हो । 

बोनस सेयरको साथमा कर प्रयोजनका लागि आवश्यक रकम समेत नगद लाभांशको रुपमा वितरण गर्ने संचालक समितिले निर्णय गरेको छ । 

यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभा र नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ । गत वर्ष यो फाइनान्सले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

सिर्जना फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड ५० लाख खूद नाफा आर्जन गरेको थियो । हाल यो कम्पनीको चुक्तापूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । ३२.५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ४० करोड ६ लाखको उचाईमा पुुग्नेछ । 

यसैबीच, नेपाल स्टक एक्सचेञ्जले सिर्जना फाइनान्सको दोश्रो बजार कारोबार निलम्बन गरेको छ ।

बोनस सेयर वितरणको निर्णय कात्तिक ६ गतेको संचालक समितिको बैठकले गरे पनि त्यसको सूचना नेप्सेलाई कात्तिक १९ गते मात्र आएपछि कारोबार निलम्बन गरिएको नेप्से प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् । नेप्सेले सिर्जना फाइनान्सले ढिलो गरी सूचना सम्प्रेषणको बिषयमा स्पष्टीकरण समेत सोधेको छ । चित्तबुुझ्दो स्पष्टीकरण र कारण पेश नभएसम्म यो फाइनान्सको कारोबार फुकुवा नहुुने प्रवक्ता पराजुलीले स्पष्ट पारे ।