काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले सनराइज बैंक लिमिटेडसँग गाभिने प्रस्ताव अनुमोदन गरेको छ ।

फाइनान्सको मोरङको विराटनगरस्थित उद्योग संगठन मोरङको सभाहलमा हिजो शनिबार सम्पन्न १९ औँ वार्षिक सधारणसभाले सनराइज बैंकसँग गाभिने प्रस्ताव पारित गरेको हो । सिर्जना फाइनान्स पूर्वेलीको गहना भएको र कारोबारबाट आकर्षक प्रतिफल पाइरहेको उल्लेख गर्दै सभामा उपस्थित शेयरधनीहरुले राष्ट्रियस्तरको फाइनान्स हुने पूँजीसमेत पूरा भइसकेको अवस्थामा गाभिने निर्णय हतारोमा लिइएको भए पनि व्यबस्थापनबाट गरिएको निर्णयको समर्थन जनाएका थिए ।

सभाले २०७६ माघ ८ गते सञ्चालक समितिले ९५ स्वाप रेशियो कायम गर्ने, कर्मचारीलाई समान पदमा समायोजन गर्ने र २०७७ बैशाखभित्र कार्य सम्पन्न गर्ने गरी सनराइज बैंकसित गाभिन (एक्विजिशन) गरेको निर्णयलाई अनुमोदन गर्दै गाभिनेसम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।

यसैगरी सभाले २०७५ असारमसान्तको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभाश पनि अनुमोदन गरेको छ । बोनस शेयर समायोजनपछि फाइनान्सले राष्ट्रियस्तरको बनाउने पूँजी पूरा गरेको छ ।

८४ करोड ७८ लाख ३८ हजार ८८० रुपैयाँ शेयर पूँजी, १ लाख ५० हजार ग्राहक संख्या, ७ अर्ब १५ करोड निक्षेप, ४ अर्ब ८० करोड कर्जा र २२ करोड ४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको सिर्जना फाईनान्सको २०७६ असारमसान्तको बार्षिक प्रतिवेदनलाई  सभाले सर्वसम्मतिले पारित गरेको छ ।