काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म पोखरा फाइनान्सको नाफामा कमी आएको छ । कम्पनीले गत वर्षको भन्दा कमजोर वित्तीय विवरण मंगलबार प्रकाशन गरेका छ । फाइनान्सको तेस्रो त्रैमासिक अवधिसम्मको वित्तीय विवरण अनुसार खुद नाफामा ७ प्रतिशतले कम भएको हो । गत वर्ष यही अविधसम्ममा ७ करोड  २ लाख खुद नाफा आर्जन गरेको फाइनान्सले यस वर्षको पहिलो नौ महिनामा ६ करोड ५३ लाख ५४ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गर्न सकेको हो ।
 
समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा तथा ब्याज आम्दानीमा कमी आएका कारण समग्र नाफा खुम्चिएको हो । फाइनान्सले समीक्षा अवधिमा १२ करोड ६१ लाख खुद ब्याज आम्दानी गरेको छ भने   १० करोड १० लाख सञ्चालन आम्दानी गरेको हो । दुवै सूचक गत वर्षका तुलनामा कमजोर हुन् । गत वर्षको यही अवधिसम्ममा फाइनान्सले १४ करोड २३ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो भने ११ करोड ४ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । 
 
कम्पनीका अधिकांश सूचक नकारात्मक देखिए पनि खराब कर्जा भने कम गर्दै लगेको छ । फाइनान्समा कुल कर्जाको १ दशमलव २६ प्रतिशत खराब कर्जा छ । यसैगरी प्रतिशेयर आम्दानीमा समेत कमी आएर ११ दशमलव ८३ रुपैयाँ कायम भएको छ । 
 
फाइनान्सको चुक्ता पूजी ६५ करोड ५७ लाख ८८ हाजर रहेको छ । गत वर्ष भन्दा पूँजी बढाएको कम्पनीको नाफा कम हुँदा प्रतिशेयर आम्दानी समेत खस्केको हो । ४ अर्ब ४ करोड निक्षेप रहेको फाइनान्सले ३ अर्ब ८९ करोड कर्जा प्रवाह गरेको छ ।