काठमाण्डौ । लामो समयदेखि लगानीकर्ताहरुले गरेको मागअनुसार नागरिक लगानी कोष(सीआइटी) मार्केट मेकर बन्न नसक्ने अवस्था देखिएको छ । 

कोषका अध्यक्ष महाश्रम शर्माले नागरिक लगानीकोषको ऐनमा पूँजीबजार र यसका सेवाहरुलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने व्यवस्था रहेको र यहीकारण यो परिस्थितिमा कोष मार्केट मेकर बन्न सहज नरहेको प्रष्ट्याएका हुन् । 

कोष २८ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न संचारमाध्यमलाई दिएको अन्तरवार्तामा अध्यक्ष शर्माले नेप्सेले पूँजी बजारको बिषयमा स्टक डिलरका लागि विगतमा कुरा भए पनि अहिले त्यसले निरन्तरता पाउन छाडेको समेत खुलासा गरेका छन् । ‘लगानीको विविधिकरणका लागि अहिले जुन किसिमको मार्केट भोलाटाइल छ, यसमा हामी मार्केट मेकर पनि हुने भन्ने यसको ऐनमा लेखिएको थियो ।’ उनले भनेका छन्–‘तर, त्यो हुनसक्ने अवस्था देखिन्न । ऐनमा भएका व्यवस्थालाई सम्पूर्ण रुपमा लैजान कहिलेकाही कतिपय बिषयले अप्ठ्यारो पारेको हुनसक्छ ।’ 

उनले नागरिक लगानीकोषले बजारमा पूँजी धेरै भयो भने किनिदिने र बजारमा पूँजी नहुँदा दिने काम गर्नसक्ने उल्लेख समेत गरेका छन् ।‘ कोष सेयरको लगानीकर्ता पनि हुनसक्छ ।’ उनले भनेका छन्–‘हामीले संस्थागत लगानी गर्ने सन्दर्भमा नेपाल स्टक एक्सचेञ्जको  सिफारिसमा धितोपत्र बोर्डले स्वीकृत गरेर निश्चित एउटा विण्डो राख्नेछ । त्यो खालको अनुमति अहिले नेप्सेले दिने अवस्था छैन, तर प्रक्रिया चाहि अगाडि बढेको छ ।’