काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा ३० वर्ष जागिर खाएर निर्देशक पदबाट रिटायर्ड भई हाल नागरिक लागनीकोष(सीआइटी)का कार्यकारी निर्देशक(इडी) रहेका रमण नेपालको पुख्र्यौली घर मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ टंकीसिनवारी हो । हाल नेपाल काठमाण्डौ–१४ रविभवनमा बस्छन् ।

हिन्दूहरुको महान चाड दशैंलाई कार्यकारी निर्देशक नेपाल कृषि व्यवसायबाट फुर्सद मिल्ने र बच्चाहरुका लागि विशेष रमाइलो चाडका रुपमा बुझ्दछन् । 

घरमा बुवाआमा भएकाले टीका आशीर्वाद थाप्न गाउँ जान लागेका नेपाल ८६ वर्षीय बुवाको बाहुलीबाट टीका थाप्दैछन् । 

बिजशालासँगको कुराकानीको क्रममा आफ्नो बाल्यकालको दशैं समेत उनले सम्झिए । ‘दशैंका बेला गाउँमा सबैभन्दा ठूलो खसी काट्ने प्रतिस्पर्धा नै हुन्थ्यो ।’नेपाल भन्छन्–‘म करिब १४–१५ वर्षको थिएँ । दशैंको टीका थापेपछि फिल्म हेर्न जाने पनि चलन थियो ।’

दशैंलाई सामान्य रुपमा मनाउनुपर्ने धारणा राख्ने नेपाल शुद्ध शाकाहारी हुन् । ‘बुवाआमा पनि वैष्णव भएकाले हाम्रोमा मासुमंस चल्दैन।’नेपालले भने–‘दशैंमा घर गएका बेला खेतबारी डुल्न खुब मन लाग्छ ।’

दशैंमा सरकारी कार्यालयका हाकिमहरुलाई उपहारस्वरुप रक्सी कोसेली दिने चलन गलत भएको नेपालको बुझाई छ । अनियन्त्रित रक्सी आयातले व्यापार घाटा भइरहेको जिकिर गर्दै नेपाल भन्छन्–‘सबै कार्यालयले रक्सी उपहार ग्रहण गर्ने चलन बन्द हुनुपर्छ ।

डिजिटल जमानामा शुभकामना इमेल, म्यासेजबाट दिँदा पनि दशैंको महत्व हुने नेपालको ठहर छ । 

नेपाल यसपटक घर गएका बेलामा इलामको फिक्कल घुम्न जाने योजनामा छन् ।