काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी)ले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । 

यस्तै, बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीमा १ बराबर ८२.८४ प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव समेत पारित भएको छ । 

सीआइटीको शनिवार सम्पन्न २५ औं वार्षिक साधारणसभाले यी दुई प्रस्ताव पारित गरेको हो । 

सभालाई सम्बोधन गर्दै कोष संचालक समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र भट्टराईले कोषको आर्थिक वर्ष २०७५/७६ को करपछिको खुद नाफा ४६ करोड २३ लाख रुपैया रहेको र उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार ९ करोड २४ लाख ५७ हजार साधारण जगेडामा राखी बाँकी रकममध्येबाट आ.व. २०७५/७६ मा २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश छुट्टयाइएको बताए । 

सो अवसरमा शेयरधनीसँगको छलफलमा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषको कार्यलाई प्रभावकारी बनाउन ब्यवस्थापन पक्ष सक्रिय रहेको दाबी गरे । 

कोरोना (कोभिड–१९) लाई ध्यानमा राख्दै कोषले न्युन शेयरधनीको उपस्थितिमा सभा आयोजना गरेको थियो । सो अवसरमा सेयरधनीरुले कोषले नयाँ भवन बनाएकोमा खुशी ब्यक्त गरेका थिए ।