काठमाण्डौ । अब नागरिक लगानी कोषले ऐच्छिक र स्वतन्त्र रुपमा पैसा जम्मा गरे पेन्सन दिने भएको छ ।

नागरिक लगानी कोषले पहिलो पटक नयाँ प्रडक्ट लञ्च गर्दै आम सर्वसाधारण, स्वरोजगार वा जोसुकैले पनि कोषमा न्यूनतम ५०० रुपैयाँ मासिक जम्मा गरी पेन्सन योजनामा सहभागी हुन पाउन लागेको कोषका कार्यकारी निर्देशक रमण नेपालले जानकारी दिए । 

बैदेशिक रोजगार गर्ने व्यक्ति, स्वरोजगार गर्ने व्यक्ति वा भविष्यमा आफ्नो वित्तीय सुरक्षा गर्न चाहने जोसुकै पनि कोषमा सहभागी हुन पाउने छन् ।

कोषमा पैसा जम्मा गर्ने व्यक्तिलाई २ वटा अप्सन रहनेछ । पहिलो १५ वर्षपछि पेन्सन पैसा बुझ्ने र दोस्रो १५ वर्षपछि साँवा र ब्याजसहित एकमुष्ट रकम लिनसक्ने योजना रहेको कोषका कार्यकारी निर्देशक नेपाल बताउँछन्।  

कोषमा त्रैमासिक, अर्धवार्षिक वा वार्षिक रुपमा पनि एकमुष्ट रकम जम्मा गरी पेन्सन योजनामा सहभागी हुन सक्ने उनको भनाइ छ । २ वर्ष कट्टा गरेपछि कोषबाट सापटीस्वरुप ऋणसमेत पाइन्छ । सो सापटीमा भने बचतको ब्याजभन्दा १.५ प्रतिशत जोडिने कोषले जनाएको छ । बीचैमा पेन्सन योजनाबाट अलग हुनुपरेमा जुनसुकै बखत साँवा र ब्याजसहित रकम निकाल्न सक्ने सुविधा समेत रहेको कोषले बताएको छ । 

पेन्सन योजनामा सहभागी हुन मासिक कति रकम जम्मा गर्ने हो त्यो भने पहिले नै सुनिश्चित गर्नुपर्ने हुन्छ । कोषले लकडाउनअघि नै पेन्सनसम्बन्धी योजनाको कार्याविधि पास गरी लागू गरेको कोषले जनाएको छ ।

पन्ध्र वर्षको अवधिमा पेन्सन योजनामा सहभागी व्यक्तिले जम्मा गरेको कुल रकमलाई १७० ले भाग गरी आउने रकम नै मासिक पेन्सनका रुपमा वितरण हुनेछ । पेन्सन सहभागीको मृत्युभएमा निजको श्रीमती वा हकवालाले समेत पेन्सनको सुविधा लिनसक्ने कोषको भनाइ छ ।

हाल कोषको केन्द्रीय कार्यालय काठमाण्डौ नयाँ बानेश्वर र कोषको प्रादेशिक कार्यालय बिराटनगर र पोखराबाट पनि यो पेन्सन योजनामा सहभागिता जनाउन सकिने कोषले बताएको छ । कोषले निकट समयमा प्रदेश नम्बर ५ र ७ स्थापना गरी यो सेवामा सहभागी गराउने योजना बनाएको छ ।