-भक्तराज रसाइली 
काठमाण्डौं । मार्केट डिलरसीपको रिहर्सल गरिरहेको नागरिक लगानी कोषले विगत एक महिनाको अवधिमा दोस्रो बजारमार्फत ४ करोड रुपैयाँ बराबरको सेयर उठाएको छ ।

नेपालको सेयर बजारमा संस्थागत लगानीकर्ताको अभाव खट्केको सन्दर्भमा नागरिक लगानी कोषले दोस्रो बजारबाट सेयर खरिदारीमा सक्रियता देखाउन थालेको हो । 

पूँजी बजारको विकास र मुलुकको समृद्धिका लागि नागरिक लगानी कोषले सक्रिय भूमिका खेलिरहेको छ । यसले नेपाली पूँजी बजारमा स्थिरता ल्याउने र बजारको दायरा वृद्धि हुने आशा आम लगानीकर्ताहरुमा जागेको जानकारहरु बताउँछन् ।

दोस्रो बजारबाट सेयर खरिदमा एक महिनायता नागरिक लगानीकोषले ४ करोड हाराहारीमा सेयर खरिद कार्य गरेको कोषका प्रवक्ता उद्धव सिलवालले बिजशालालाई बताए ।

संस्थागत लगानीकर्ताका रुपमा नागरिक लगानी कोषले नागरिकका बचत रकमलाई पूँजी बजारमा पूँजीगत लाभ आर्जनका लागि बेला–बेलामा दोस्रो बजारबाट खरिदबिक्री गर्ने गरिएको प्रवक्ता सिलवालको भनाई छ ।

नागरिक लगानी कोष बचत, लगानी र पूँजी बजार सेवाका लागि सक्रिय रहेको छ । आउँदो बैशाखदेखि मार्केट डिलरका रुपमा प्रवेश समेत गर्न लागेको छ । 

सेयरको इस्यू मेनेजरका रुपमा समेत खरो उत्रिएको कोष मार्केट डिलरका रुपमा र सेयर उठाउने सक्रियता भएयता सेयर लगानीकर्ताहरुमा बजारप्रति आशाको सञ्चार हुँदै गएको देखिन्छ ।

मार्केट डिलरका रुपमा कोषको भूमिकाले सेयर बजारमा लगानीकर्ताको आत्मबल अभिवृद्धिसँगै मनोविज्ञानमा सन्तुलन ल्याउन सहयोग पुग्ने बताइन्छ । सेयर बजारको अस्वभाविक उत्तारचढावलाई समेत डिलरको भूमिकाले सन्तुलनमा राम्रो भूमिका खेल्ने जानकारहरुको भनाई छ ।

मार्केट डिलरका रुपमा कार्य गर्न नागरिक लगानीकोषलाई कानूनी रुपमा खुल्ला गर्न नेप्सेमा हालै बनिएको नेप्सेको कमिटीले समेत अध्ययन गरिरहेको नेप्सेले जानकारी दिएको छ । 

यसले भोलिका दिनमा दोस्रो बजारमा लगानीकर्ताहरुमा विश्वसनीयता बढ्ने कतिपय जानकारहरु दाबी समेत गर्छन् । 

नेपाली सेयर बजारमा कोषले डिलरका रुपमा भूमिका निर्वाह गरेर सेयर बजारको विकास र विस्तारमा कोशेढुंगा सावित हुने आशा गरिएको छ ।