-भक्तराज रसाइली
काठमाण्डौ । नागरिक लगानी कोष(सीआइटी) पूँजी बजारमा स्टक डिलरका रुपमा नआउने भएको छ ।

दुुई वर्षअघि कोष आफैंले नेपाल स्टक एक्सचेञ्जलाई स्टक डिलरका रुपमा काम गर्न पाउँ भन्दै निवेदन दिएको थियो । त्यसको बोधार्थ नेपाल धितोपत्र बोर्डलाई समेत दिइएको थियो। तर, आवेदन दिएको लामो समय बितेपछि केही अप्ठ्यारा व्यवस्था र अन्यौलपूर्ण बजार तथा बजार संचालक र नियामकको चलखेलका कारण स्टक डिलरका रुपमा आउन अनिच्छुक देखिएको हो ।

कोषस्थित उच्च स्रोतका अनुुसार कोषका कार्यकारी निर्देशक रमण नेपाल वर्तमान अर्थमन्त्री युवराज खतिवडाकै खेमामा रहेकाले समेत नेपाल पूँजी बजारतर्फ आकर्षित हुन नसकेका हुन् ।

अर्थमन्त्री खतिवडा पूँजीबजारलाई लगानीको अत्यधिक जोखिमको क्षेत्र मान्दै आएका व्यक्ति हुुन् । कोष पनि अर्थमन्त्रालय अन्तर्गत नै रहने भएकाले समेत अर्थमन्त्री खतिवडाकै लाइनमा कोषलाई लगिएको स्रोत बताउँछ । 

‘नेपालको सेयर बजार अनुमानभन्दा बाहिर रहेको छ, जुुन विश्व बजारको ट्रेन्ड र सिद्धान्तलाई कुुनै कोणबाट अवलम्बन गरिएको पाइएन।’कोषस्थित उच्च स्रोतले भन्यो–‘सेयर लगानीकर्ता र म्युुचुुअल फण्ड सर्टटर्म कारोबारी भई प्रफिट बूूक गर्ने गलत होडबाजीले बजार अप्राकृतिक भइरहेको छ । अनि हामी तीनै चलखेल गर्ने लगानीकर्ता र बदमास म्युचुअल फण्डको घाटा सहने पात्रका रुपमा स्टक डिलरका रुपमा आउनुुपर्ने ?’

कोषका अधिकारीहरु पछिल्लो समय बजार संचालक नेप्से र नियामक धितोपत्र बोर्डकै अधिकारीहरुको शंकास्पद गतिविधिबाट समेत सन्तुष्ट छैनन्। केही निश्चित व्यक्तिले मात्र सूचनामा पहुँच राखी तीव्र चलखेल गरी कमाउने भाँडो बनाएका र यस्तो जोखिमपूर्ण बजारमा लगानी गर्नु उपयुक्त नहुने पछिल्लो निश्कर्ष रहेको स्रोत दाबी गर्छ । 

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पूँजी वृद्धिका साथै लगानीका अवसरहरु बढाउन तथा पूँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यका साथ कोषको स्थापना भएको हो । ट्रष्टी संस्थाका रुपमा बचत ग्रहण र लगानीको मध्यस्थता गर्दै आएको कोषमा हाल १ सय ३१ अर्बको फण्ड रहेको छ ।

कोषको लगानी नीति,२०७५ को परिच्छेद–३ मा भएको प्रावधानमा क्षेत्रगत लगानी सीमाअनुसार सेयर लगानी तथा प्रत्याभूूतिमा मात्रै अधिकतम १७ प्रतिशतसम्म लगानीको सीमा कायम छ ।