काठमाण्डौ। धितोपत्रको सार्वजनिक निश्कासनमा सी-आस्वा प्रणाली अनिवार्य लागू गरिए पनि त्यसको सहज र सरल कार्यान्वयन गरी सर्वसाधारणलाई चुस्त सेवा दिने बिषयमा बैंक तथा बित्तीय संस्थाहरुले लापरबाही गर्न थालेका छन् । 

सेवाग्राहीबाटै अनुमतिप्राप्त बैंक तथा बित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट प्रभावकारी ढंगले सेवा प्रवाहमा ध्यान नदिइएको गुनासो गरेपछि धितोपत्र बोर्डले सेवाको प्रभावकारी कार्यान्वयनका लागि आस्वा सेवा संचालनको अनुमति पाएका सबै कम्पनीलाई निर्देशनात्मक परिपत्र गरेको छ । 

सेवाग्राहीले बोर्डमा धितोपत्रको सार्वजनिक निष्काशनमा सी–आस्वा प्रणाली लागू गरिएकोमा उक्त सेवा प्रदान गर्न बोर्डबाट अनुमतिप्राप्त गरेका बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको, लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भएबमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको, चेक समेत बुझिलिने गरेको जस्ता  बिषयमा उजुरी गरेपछि बोर्डले नयाँ कदम चालेको हो । 

बोर्डले सेवाग्राहीलाई सरल तथा छिटोछरितो सेवा  प्रदान गर्न  सार्वजनिक निष्काशनमा शेयर खरिदका लागि प्राप्त आवेदन सी-आस्वा सफ्टवेयरमा रुजु गरी ग्राहकको पहिचान यकिन गरेपछि मात्र बुझिलिन निर्देशन दिएको छ । यस्तै, आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्नुपर्ने, सेवाग्राहीलाई सीआस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गरिनुपर्ने र सीआस्वा सेवा अझ प्रभावकारीरुपमा कार्यान्वयन गर्न आफ्ना कर्मचारीलाई सोसम्बन्धी  तालिमको समेत व्यवस्था गर्न निर्देशन दिइएको छ ।