- भक्तराज रसाइली 

काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले सीडीएससीले भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने निर्देशनविरुद्ध आज शुक्रवार नेपाल धितोपत्र बोर्ड डेलिगेसन गएको छ । 

सेयर बजार प्रविधिमैत्री भइरहेको सन्दर्भमा सीडीएससीको निर्देशनकै कारण ब्रोकर कार्यालय गई औँठछाप लगाउनुपर्ने अव्यवहारिक भएकाले शुक्रबार दुईवटा संघका नेताहरुले धितोपत्र बोर्ड गएको फोरमका अध्यक्ष छोटेलाल रौनियारले जानकारी दिए । धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीलाई भेटेर गुनासो राखेको बताउँदै अध्यक्ष रौनियारले बिजशालासँग भने, ‘अध्यक्षज्यूलाई पनि यस विषयमा जानकारी रहेनछ, सीडीएससीसँग बुझ्ने आश्वासन दिनुभएको छ ।’

लगानीकर्ता संघसंगठनका नेताहरुको टोली हिजो बिहीवार पनि सीडीएससी डेलिगेसन गएको थियो। राज्यले कट अफ डेट नतोकिदिँदा दोस्रो बजार पुनः ब्रोकर अफिस नै स्वयं उपस्थित भई पूँजीगत लाभकर स्वयं घोषणा गर्नुपर्ने बाध्यताकारी अवस्था सिर्जना भएकोले सेयर लगानीकर्ताहरुले यसविरुद्ध चौतर्फी विरोध जनाइरहेका छन् ।

फोरमले बिहीबार पनि एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वयम्ले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा धकेलिदिएको र लगानीकर्ताहरु पुनः ब्रोकर अफिसमै धाउनुपर्ने अव्यवहारिक अवस्था सिर्जना गरेको भन्दै तत्काल भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सीडीएससीबाट नै गराउने व्यवस्था गर्न माग गरेको थियो । 

गत आर्थिक वर्षमा पूँजीगत लाभकरको गणना विधि सम्बन्धमा द्विविधा भएकोले नेपाल सरकार, धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र नेपाल इन्भेष्टर्स फोरमका प्रतिनिधि र ब्रोकर एशोसिएसनका प्रतिनिधिसमेतको उपस्थितिमा भारित औसत दरको आधारमा पूँजीगत लाभकर लगाउने आपसी सहमति भई सोबमोजिम नेपाल सरकारको आर्थिक विधेयक आएको फोरमको दाबी छ । 

विधेयकमा 'लाभ गणना गर्दा जुन निकायको हित निःसर्ग हुने हो, त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्नेछ' भन्ने विषय आर्थिक विधेयकमा राखिएको र सोअनुसार स्वीकृत भइसकेकोले कागजी युगमै जाने प्रयास रोक्न समेत फोरमले माग गरेको छ। 

नेपाल सरकारले स्पष्टसँग भारित औसत दरमा पूँजीगत लाभकर निर्धारित गर्नका लागि ऐन संसोधन भई कार्यान्वयनमा गइसकेको र पूँजीबजारमा लगानी गर्ने लगानीकर्ताको सम्पूर्ण कारोबारको विवरण, लागतसमेत सीडीएससी र ब्रोकर कम्प्युटर सिस्टममै  रहेको र सोअनुसार नै भारित औसत दरमा पूँजीगत लाभकर प्रविष्ट गर्ने गरी गत वर्ष सर्वपक्षीय सहमति भएको फोरमले स्मरण गराएको छ । 

भारित औसत दरमा पूँजीगत लाभकरको निर्धारण सीडीएससीबाट गराउने व्यवस्था नभए गत वर्षझै आन्दोलनमा उत्रिने फोरमले चेतावनी दिइसकेको छ ।