-प्रकाश बञ्जारा
यूएई । दुबईको एउटा नाम चलेको कम्पनीमा प्राविधिक “टेक्निसियन”को काम गर्छन् ललितपुरका विजय गुरुङ्ग । मेसिनको मर्मत सम्भारमा राम्रो ज्ञान भएका गुरुङ्गको मासिक तलब ५ हजार दिराम अर्थात नेपाली १  लाख ४० हजार रुपैयाँ हाराहारी हुन्छ । हातमा सिप र जाँगर हुनेलाई खाडी पनि राम्रो कमाईको ठाउँ बन्नसक्छ भन्ने कुराको उदाहरण पनि हुन् उनी । 

एकताका कम्पनी परिवर्तन गर्ने मानसिकता बनाउँदा १ महिनामै ३ वटासम्म जागिरको अफर पाएका गुरुङ्गले राम्रो आम्दानी र सेवा दिने ठानेर हाल काम गरिरहेको कम्पनी चुनेका थिए र यसैबाट सन्तुष्ट पनि छन्् । झण्डै ९ वर्षदेखि युएईमा काम गरिरहेका गुरुङ्गले हालसम्म ३ वटा कम्पनीमा काम गरे । 

सिप र योग्यता भए प्रतिस्पर्धामा उत्रिएर राम्रो सेवा सुविधाको काम खोज्न र कम्पनी परिवर्तन गर्न पाईने भएकाले कामको सिलसिलामा युएई छिर्नेहरुको निकै ठूलो जमात छ  । कमाई र कम्पनी दुवै राम्रो भएको कारणले बसाई टुङ्गाइहाल्ने विषयमा भने सोचिनसकेको बताउने गुरुङ्ग देशमै गए पनि अनुभव अनुसारको काम पाइने कुरामा विश्वस्त छन् । “कमाई राम्रै छ, केही योजना छन् ती पूरा गरी स्वदेश फर्किएर केही गर्ने बिषयमा सोच्नेछु।” गुरुङ्ग भन्छन् ।  

दोलखा घर भएका कृष्ण पकुवाल ५ सालदेखि दुवईमा काम गर्छन् । पहिला अवुधावीस्थित एक क्याटरिङ्ग कम्पनीमा आएका पकुवाल अहिले भने दुवइको मारिवट स्टारउड ग्रुपको एक पाँचतारे होटलमा डेमि सेफ डि पाटि “कुक” हुन् । नेपालमै सिटिईभिटिमार्फत गेट कलेजबाट ६ महिने कुकको तालिम गरेर खाडी भासिएका पकुवाल अहिले खाने बस्ने कम्पनीको सुविधासहित मासिक ८० हजार देखि ९० हजारसम्मको कमाई गर्छन् ।  नेपालमै काम सिकेर आएको हुनाले काम गर्न सजिलो भएको बताउने उनी आफ्नो कामबाट सन्तुष्ट नै छन् । 

दुवईमा सन् २०२० मा आयोजना हुने वर्ड एक्स्पोसम्म दुबई बस्ने योजना बनाएका यी युवा नेपाल गएर आफ्नै सिपअनुसारको रेष्टुरेन्ट व्यवसायमा लगानी गर्ने योजनामा छन् । 

उता, दाङ घर भएका भागिराम डाँगी १० वर्षदेखि जिन्दगीको डुङ्गा दुवईमा खियाउँदैछन । दुवईकै एक अर्धसरकारी कम्पनीमा सुरक्षा अधिकारीको काम गर्ने डाँगीको मासिक कमाई खर्च कटाएर १ लाखको हाराहारीमा हुन्छ । १० वर्षअघि १२ सय दिराम अर्थात झण्डै नेपाली ३५ हजार रुपैयाँ तलवमा खाडी आएका डाँगी आफ्नो हालको काम र तलबसँग सन्तुष्ट नै छन् । “दुवईमा सफल र सन्तुष्ट हुन शैक्षिक योग्यता भन्दा पनि सम्बन्धित काममा दक्ष र अनुभवी हुनुपर्छ।” डागीँ भन्छन् । हाल उनलाई रोजगार दिने कम्पनी दुवईमा उनको दोस्रो रोजगारदाता हो । “पहिलो कम्पनीमा ५ वर्ष बिताएपछि कामको अनुभव र फरक–फरक अवस्थामा कसरी काम गर्ने भन्ने कुराको ज्ञान भयो, त्यसपछि राम्रो तलव र सेवा सुविधा दिने कम्पनीमा आउन सफल भएँ।” डाँगीले खुसीसाथ भने । नेपाल फर्किएपछि आफ्नै लगानीमा केहि व्यावसाय गर्ने उनको चाहना छ । “देशमा रोजगारी नपाएर होस् अथवा देशमा काम गर्न नचाहेर विदेश आउन चाहाने हरेक नेपालीलाई सिप सिकेर कुनै काममा दक्षता हासिल गरेर मात्र आउन भन्छु।”–डाँगी सुझाउँछन् । 
 
पकुवाल, डाँगी तथा गुरुङ्ग यी सबै हातमा सिप भएका कारणले खाडीमा पनि खुसी रहेका नेपालीहरुमा पर्छन् र उनीहरुजस्ता अरु थुप्रै नेपाली छन् जो उत्तिकै खुसी र सन्तुष्ट छन् । गर्मी महिनामा तापक्रम ह्वात्तै बढ्ने भएकाले बाहिर काम गर्न निकै गाह्रो हुन्छ यहाँ । त्यही भएर पनि नेपाली कामदारहरु निर्माण कम्पनी भनेपछि आङै सिरिङ्ग बनाउँछन् । निर्माण कम्पनीमै पनि पाईपको काम गर्ने प्लम्बर, बिजुलिको काम गर्ने ईलेक्ट्रिसियन, एसिको काम गर्ने प्राविधिक साथै मेसन, कार्पेन्टर, पेन्टर जस्ता कामहरु सिप र अनुभवका काम हुन् । यसमा काम गर्ने कामदारको तलव पनि राम्रै हुन्छ । 

शैक्षिक योग्यता राम्र्रो हुनेले त म्यानेजरको मन जितेर माथिल्लो तहमा पनि पुगेका थुप्रै उदाहरणहरु छन् । निर्माण कम्पनीमा अर्को राम्रो कमाई हुने भनेको स्काफोल्डिङ्गको काम हो  । झट्ट हेर्दा ठूलो भवनको माथि चराजस्तै झुण्डिएर काम गर्नेको तलब पनि राम्रै हुन्छ । ओभरटाईम लाग्ने कुनै कुनै कम्पनीमा त स्काफोल्डिङ्गमा काम गर्नेले १ लाखको हाराहारी कमाउने गर्छन् । अग्लो ठाउँमा काम गर्नुपर्ने हँुदा नेपालीहरु बहादुर भएकै कारणले पनि स्काफोल्डिङ्गमा काम गर्नेको संख्या निकै ठूलो मानिन्छ दुवईमा ।  

हातमा सिप र अंग्रेजीमा कुरा गर्नसक्ने  धेरैका लागि खाडी मुलुक युरोप, अमेरिकाभन्दा कम छैन । कतिपय नेपालीहरु कामको अनुभव र सिपका कारण राम्रो कमाई गर्न सफल भएका छन् भने कति आफ्नो शैक्षिक योग्यता र अनुभवका कारण प्रसिद्घ कम्पनी म्यानेजरसम्मको पदमा पुगेका छन् । कमाईका हिसाबले होस् या रहनसहन र समान न्यायपद्घति, खाडी मुलुकमा पनि संयुक्त अरब ईमिरेट्स युएई धेरैका लागि सपनाको मुलुक हो र धेरैका सपना सार्थक पनि यही मुलुकले बनाएको छ । 

खाडीमा युरोप अमेरिका जस्तो पिआरको सुविधा नभएका कारणले पनि ठूलो पैसा कमाउने खाडीका नेपालीको देशप्रतिको मोह ठूलै हुन्छ । उनीहरु कमाएको पैसा मुलुकमै लगानी गर्छन् र त्यसैबाट प्रतिफलको आशा समेत राख्छन् । थुप्रै नेपालीहरु त दुवईमा परिवारैसहित पनि बसेर जिविका चलाइरहेका छन् ।