काठमाण्डौ । भारत र भुटानसँगको सीमाक्षेत्रमा चीनले सडक विस्तार सुरु गरेपछि पछिल्लो विवाद चर्किएको छ । चीन, भारत र भुटानको त्रिदेशीय सीमाक्षेत्रमा चीनले बनाइरहेको सडकले आफ्नो भूमि मिचिएको भुटानको दाबी छ । 

पछिल्लो अवस्था : दोकलाम क्षेत्रमा चीन र भारत दुवैका सेना तैनाथ छन् । अहिले उनीहरू आमने–सामनेको अवस्थामा छन् । उनीहरूको उपस्थितिले दुई देश युद्धको नजिक रहेको संकेत गर्छ । तर, यी दुई देश साँच्ची युद्धमा गएमा पूरै एसिया मात्र होइन, विश्व नै तानिने लगभग निश्चित छ ।

साँच्चै भिडन्त भए नतिजा कति खतरनाक ?
बिबिसीको समाचार टिप्पणी : चीनसँग युद्ध भए अमेरिका र जापानले भारतलाई कुन हदसम्म सहयोग गर्लान् ? अमेरिकाले भारतलाई साथ दियो भने अहिले आँकलन गरिएकोभन्दा परिणाममा के भिन्नता आउला ? यी प्रश्नमा भारतीयभन्दा चिनियाँ मिडियामा बढी बहस भइरहेको छ ।

यसरी बल्झियो विवाद 
भारत र भुटानसँगको सीमाक्षेत्रमा चीनले सडक विस्तार सुरु गरेपछि पछिल्लो विवाद चर्किएको हो । चीन, भारत र भुटानको त्रिदेशीय सीमाक्षेत्रमा चीनले बनाइरहेको सडकले आफ्नो भूमि मिचिएको भुटानको दाबी छ । यो क्षेत्रमा चीन र भुटानबीच पहिल्यैदेखि सीमाविवाद थियो । चीनले सडक बनाइरहेको भूमि आफ्नो हो भन्ने भुटानको दाबीमा भारतको पनि समर्थन छ । भारत र भुटानबीचको सुरक्षासन्धिअनुसार भुटानको सुरक्षा गर्न भारतीय सेना सो क्षेत्रमा प्रवेश गरेको भारतको दाबी छ । सो सडक निर्माण पूरा भएमा भारतको सुरक्षा जोखिमको २० किलोमिटर क्षेत्र ‘चिकेन नेक’ मा चीनको पहुँच बढ्ने भारतको चिन्ता छ । तर, सो क्षेत्र आफ्नो भएको दाबी गर्दै अविलम्ब पछि हट्न चीनले चेतावनी दिएको छ । भुटान र चीनबीचको विवादमा भारतको हस्तक्षेप अस्वीकार्य हुने पनि चीनको भनाइ छ ।

चीनको चेतावनी 
भारतसँगको सैन्य द्वन्द्वबाट जोगिन चीनले प्रयास गर्नेछ, तर सार्वभौमसत्ताको सुरक्षाका लागि युद्धमा होमिन चीन डराउँदैन । भारतीय सेना बन्दोबस्ती सामग्रीसहित परिचालित भएकाले हामी मौन बस्न मिल्दैन । भारतले सेना फिर्ता नगरेमा दुई देशलाई छुट्याउने लाइन अफ एक्चुअल कन्ट्रोल (एलओएसी)मा ‘अप्रिय’ घटना हुन सक्छ । भारतलाई सन् १९६२ को याद अझै पनि होला भन्ने हाम्रो अपेक्षा छ ।

भारतको जवाफ 
दोकलाम रणनीतिक महत्वको क्षेत्र भएकाले भुटानलाई हेपेर चीनले अतिक्रमण गरेको हो । चीनले सडक बनाउँदा भुटानको भूमि मिचिन्छ र भारतलाई पनि गम्भीर सुरक्षा खतरा निम्तिन्छ । हामी कूटनीतिक पहलद्वारा विवाद अन्त्य होस् भन्ने चाहन्छौँ र प्रयास पनि गर्नेछौँ । तर, सन् १९६२ को युद्धमा भारतले हारेको भनेर सम्झाउने हो भने हामी भन्न चाहन्छौँ– अहिलेको भारत सन् १९६२ को होइन । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।