काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली चाँडै सुरु हुने र यसले बजारको विकासलाई निकै माथि पुर्याउने भनिए पनि बजारले गति लिन सकेको छैन । सोही कारण साताको पहिलो कारोबार दिन आइतबार बजार स्थिर देखिएको छ । नेप्से परिसूचक ०.४६ अंकले घटेको छ भने कारोबार रकम भने केही बढेको छ । 

गत सातादेखि सेयर कारोबार गर्न चाहनेले अनिवार्य रुपमा केवाइसी अपडेट गर्नुपर्ने भनिएपछि लगानीकर्ताको अभावमा थोरै कारोबार हुँदै आएको छ । बजारलाई बुम गर्ने ठानिएको अनलाइन प्रणालीको काम अन्तिम चरणमा पुगेको भनिए पनि लगानीकर्ताहरु आश्वस्त हुन सकेका छैनन् । 

स्थिर सरकारले सोमबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । केही ठूला लगानीकर्ता सरकारको नीति तथा कार्यक्रमको पर्खाईमा छन् भने बैंकहरुमा नक्कली कागजातको आधारमा आफूभन्दा फरक नाममा खाता खोली सेयर कारोबार गर्दै आएकाहरु केवाइसीका कारण हच्किएका छन् ।

यी कारणले समेत बजार माथि उठ्न नदिइरहेको विश्लेषकहरु बताउँछन् । भारत र नेपालतर्फ दोहोरो नागरिकता भएका तथा नेपालतर्फको नागरिकता नै नभएका कतिपय मारवाडी समुदायका लगानीकर्ता समेत केवाइसीको त्रासले बजारमा पहिलाजस्तो उत्साहित भएर आउन सकेका छैनन् । यसले समेत बजार प्रभावित तुल्याइरहेको बताइन्छ ।  

लगानीकर्तामा लामो समयदेखिको अन्यौल हट्न नसकिरहेकै कारण मार्जिन ट्रेडिङको केही सजिलो व्यवस्था तथा अनलाइन कारोबार प्रणालीको आशलाग्दो कुराले समेत बजार माथि उठाउन नसकेको देखिएको छ । यसमा कतिपयले केही संस्थागत र ठूला लगानीकर्ता बजेटको पर्खाईमा समेत रहेको बताइरहेका छन् । कतिपयले भने लगानीकर्ताको मनोबल माथि उठ्न नसकिरहेको अवस्था बजारमा सेयरको आपूर्ति बढ्न नरोकिएकोले समेत बजार माथि उठ्न नसकेको दाबी गर्दै आएका छन् ।

यो दिन बजारमा ०.४६ अंकले घटेर नेप्से १३३९.१९ को विन्दूमा समेटिएो छ । यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.०४ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०१ अंकले घटेको छ । 

बैकिङ समूह १.७८ अंकले घटेको बजारमा होटल समूह १९.५५ अंक, बित्त समूह ०.०२ अंक, उत्पादनमूलक ११.६४ र अन्य समूह ०.३२ अंकले घटेका छन् । 

यो दिन विकास बैंक समूह १.०३ अंकले बढेको छ । यस्तै, जलविद्युत समूह ०.८४, बिमा समूह १९.७६ र माइक्रोफाइनान्स समूह ७.९ अंकले बढेका छन् ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५९ कम्पनीका ७ लाख ६९ हजार ३ सय ३ कित्ता सेयर ३४ करोड ८२ लाख ९८ हजार ३ सय २३ रुपैयाँमा किनबेच भएको छ । 

यो दिन मिर्मिरे माइक्रोफाइनान्सले २ करोड ३६ लाख बढीको कारोबार गर्यो । यस्तै, प्रभू इन्स्योरेन्सले १ करोड ५३ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड २६ लाख बढीको कारोबार गरेको बजारमा राष्टिय बिमा कम्पनीको १ करोड २२ लाख बढीको संस्थापक सेयर किनबेच भयो । नेपाल बैंकले १ करोड १७ लाख, सानिमा माई हाइडोले ९८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ९६ लाख, नवील बैंकले ९४ लाख, लक्ष्मी बैंकले ८० लाख र एनएमबी बैंकले ७९ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन मिर्मिरे माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीका लगानीकर्ताले १० प्रतिशतले सम्पत्ति बढाए । यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य समेत १० प्रतिशतकै हाराहारीमा बढ्यो । सेन्ट्रल फाइनान्सको मूल्य ७ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन हिमालयन डिस्टीलरीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।