काठमाण्डौ । सरकारको तथ्याङ्कमा मुद्रास्फिति निकै तल झरेको छ । 

कोभिड १९ बाट ग्रस्त अर्थतन्त्रको अवस्था प्रस्तुत गर्दै नेपाल राष्ट्रबैंकले यस्तो दाबी गरेको हो । उसको भनाईमा चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.९५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.०४ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३१ प्रतिशत, तराईमा ४.०२ प्रतिशत, पहाडमा २.७२ प्रतिशत र हिमालमा ४.०७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ साउनमा यी क्षेत्रहरुमा क्रमशः ८.६३ प्रतिशत, ६.४६ प्रतिशत, ६.०० प्रतिशत र ५.५७ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

बाह्य क्षेत्र
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु निर्यात ८.९ प्रतिशतले वृद्धि भई रु.९ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २७.७ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४.४ प्रतिशत र २५.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ७१.७ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पश्मिना, ऊनी गलैंचा, आयुर्वेदिक औषधी, जडिबुटी, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जुस, अलैंची, पोलिस्टर यार्न तथा अन्य धागो, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल वस्तु आयात १९.६ प्रतिशतले घटेर रु.८५ अर्ब ८१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.५ प्रतिशतले घटेको थियो । 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.८ प्रतिशत, ३९.७ प्रतिशत र १०.५ प्रतिशतले घटेको छ । 

वस्तुगत आधारमा चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, कोइला, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, एम.एस. बिलेट, हटरोल सीट लगायतका वस्तुको आयात घटेको छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २३.० प्रतिशतले वृद्धि भई रु.९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५१ अर्ब ४६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.३ महिनाको वस्तु आयात र १५.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत, १२९.७ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

सरकारी वित्त स्थिति
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.५८ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.७६ अर्ब ९७ करोडले बचतमा रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी हुन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रु.१ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.२ अर्ब ६२ करोड रहेको थियो ।

मौद्रिक स्थिति
आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा विस्तृत मुद्राप्रदाय १८.९ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कुल आन्तरिक कर्जा १.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १.१ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा यस्तो कर्जा १३.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ०.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ०.४ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ०.६ प्रतिशतले र वित्त कम्पनीहरुको ३.१ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

२०७७ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.१ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.७ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ साउन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.१ प्रतिशत र १३.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.६ प्रतिशतले घटेको छ भने निर्माण क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.५ प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा १.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ०.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.१ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ०.३ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा २.२ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ९ प्रतिशतले र हायर पर्चेज कर्जा १.४ प्रतिशतले घटेको छ ।
 
ब्याजदर
२०७६ साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ०.२१ प्रतिशत रहेकोमा २०७७ साउनमा पनि ०.२१ प्रतिशत कायम भएको छ ।

वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ साउनको १.१९ प्रतिशतको तुलनामा २०७७ साउनमा ०.०२ प्रतिशत कायम भएको छ । छद्द। वाणिज्य बैंकहरुको औसत आधार दर २०७६ साउनमा ९.४५ प्रतिशत रहेकोमा २०७७ साउनमा ८.०८ प्रतिशत कायम भएको छ । २०७७ साउनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.७७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.७७ प्रतिशत र १२.०८ प्रतिशत रहेका थिए ।