काठमाण्डौ । महिलाहरुको नेतृत्व हतपत नपचाउने परम्परावादी सामाजिक संस्कारबाट ग्रसित २०५० सालको समाजमा हरेक क्षेत्रमा महिलाहरुको प्रवेश सहज थिएन । धेरैका लागि अनौठो लाग्ने लगानीको क्षेत्र सेयर बजारमा महिला ब्रोकरमा रुपमा प्रवेश गर्ने कुरा त झनै गाह्रो बिषय थियो ।

त्यसबेलाका यस्ता अनेकन चुनौति र समस्याका पहाड छिचोलेर अगाडि बढ्न साहसीहरुले मात्र सक्थे । तिनै साहसी महिलाहरुमध्येकै एक हुन् सुचिता खनाल । नेपाली सेयर बजारको पहिलो महिला ब्रोकरको रुपमा स्थापित खनालको संघर्षपूर्ण जीवनगाथा निकै चाखलाग्दो छ । 

खनालले २५ वर्षअघि ब्रोकर नम्बर २५ को श्वेता सेक्युरिटीजलाई जन्म दिएकी थिइन् । आज यो सेक्युरिटिज लगानीकर्ताहरुको रोजाई बन्न सफल भएको छ ।

त्यसबेला ओपन क्राइ सिस्टमबाट सेयरको कारोबार हुन्थ्यो । एकमात्र महिला ब्रोकरका रुपमा परिचित सुचिता खनाल सम्झिन्छिन्–“बोलेर बोर्डमा कोड गर्नुपर्ने अवस्था थियो र काम गर्दा सबैले मलाई नै हेरेजस्तो लाग्थ्यो ।” 

सुरुवातमा उनैलाई पनि यो पेशा अनौठो लाग्थ्यो । तर, बिस्तारै अभ्यस्त हुँदै गइन्, बजारमा सबैको साथ समेत प्राप्त हुँदै गयो । ब्रोकरेजको काममै भिज्न थालेपछि र रमाइलो अनुभूत हुन थालेपछि भने उनमा यसैलाई नै करिअर बनाएर अगाडि बढ्ने अठोट पलायो र त्यसैको निरन्तरताले उनलाई अहिले एक सफल ब्रोकरको पहिचान दिएको छ । 

त्यसबेलाको समाज  महिलाहरुको बिषयमा केही संकुचित भए पनि ‘पुरुषको तुलनामा आर्थिक कारोबारमा महिलाहरु इमान्दार हुन्छन्’ भन्ने सोंचले चाहि सुचितालाई अगाडि बढ्न निकै सहयोग गरेको रहेछ । 

दैनिकी भरेर नेप्सेमा भोलिपल्ट कारोबार बुझाउनुपर्ने र नामसारी गर्न ६ महिना लाग्ने त्यो जमानाको कुरा सम्झँदा सुचितालाई अनौठो सपना जस्तो लाग्छ । 

२०५० सालमा कारोबार गर्दा दैनिक कारोबार कति हुन्थ्यो भन्ने जिज्ञासामा उनले भनिन्–“टर्नओभर ५० लाखदेखि १ करोडको बीच हुन्थ्यो र त्यो बेलामा ब्रोकर संख्या पनि २५ मात्र थियो।” ५१ देखि ५४ सालमा दैनिक कारोबार भोल्युम १५ लाख हुँदा मानिसहरु ‘बाफ रे बाफ’ भन्दै आश्चर्य मान्थे । “हामीले  दैनिक सवा दुई अर्ब कारोबार पनि देख्यौं र १५ लाख पनि देख्यौं ।” उनले थपिन् । उनको भनाईमा अब सेयर बजार बिस्तारै विकास हुँदै गएकाले कारोबार रकममा अझै छलाङ आउने छ । उनको विचारमा पूर्ण अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन भएपछि कारोबार रकम निकै धेरै माथि पुग्नेछ । 

करिब १५ वर्षअघिदेखि नै सेयर धितोमा राखेर ऋण पाउने व्यवस्था रहेको र अहिले ऋणका लागि सहज अवस्था रहेकोमा खुशी व्यक्त गरेकी उनले ब्रोकर मार्फत् मार्जिन लेण्डिङ पनि आउन लागेकाले बजारलाई राम्रो हुने विचार व्यक्त गरिन् ।

आफ्नो बलबुता र आत्मविश्वासले सफल ब्रोकर बन्न सकेकोमा खुशी उनले विगत सम्झिइन् । नेप्सेले ब्रोकरको रुपमा काम गर्न इच्छुकलाई आवेदन आह्वान गरेपछि आफ्ना भाई ब्रोकर नम्बर २२ का रविराज भट्टराईले प्रतिस्पर्धा गर्न सल्लाह दिएको र त्यसपछि यो क्षेत्रमा आएको बताइन् ।

नेपाल कमर्स क्याम्पसमा मास्टर जोइन गरे पनि व्यवसायको व्यस्तताका कारण डिग्री गर्न नसकेकोमा केही खिन्न अनुभव रहेको उनी बताउँछिन् । नेप्सेमा ब्रोकर लाइसेन्स लिने बखतमा उनी २६ वर्षकी मात्र थिईन् । “पाका व्यक्तिहरु अन्तर्वार्तामा प्रतिस्पर्धीका रुपमा आएका बेला म फुच्ची पनि त्यही लाइनमा थिएँ । अझै पनि सो बेलाको याद ताजा बनेर आउँछ ।’–उनले भनिन् ।

उनले आनन्द र ढुक्क साथले अन्तर्वार्ता दिईन् । श्रीमान अर्थविद, पूर्व अर्थसचिव रामेश्वर खनालको घर भैरहवा भएकाले उतै लागिन् । दशैंपछि रिजल्ट आयो, उनी सफल भइन् । योसँगै उनको नाममा नेपालको पहिलो महिला ब्रोकरको इतिहास समेत कोरियो । 

सहकारी विकास बोर्डमा कार्यरत तत्कालीन शाखा अधिकृत श्रीमानको साथ र सहयोगले आज यो उचाई चुमेको उनी बताउँछिन् । 

वि.सं. २०५० साल पुष २९ गते पहिलो कारोबारबाट हात हालेकी उनले ब्रोकर सेवामार्फत अहिले भने पुतलीसडकस्थित सेयरमार्केट कम्प्लेक्सबाट सेवा दिइरहेकी छिन् । त्यहाँ उनी ०७३ सालमा सरेकी हुन् । त्यसअघि पुतलीसडकस्थित राधाकुटीमा रहेको आफ्ना दाजु राजीवराज भट्टराईको अडिट फर्मबाट नै २२ वर्षसम्म ब्रोकरेज सेवा दिएकी थिइन् । 

“मैले जीवनमा पेशाप्रति धेरै सेक्रीफाइस गरेकी छु । त्यसबेला ब्रोकरेज सेवाले मैले मेरो बच्चीलाई समय दिन सकिँन, ६ वर्षको उमेरदेखि नै बोडर्समा राख्नुपर्यो ।’ छोरीलाई समय दिन नपाएको विगत सम्झिँदा मातृमन क्षणभरमै भक्कानियो । केहीबेरपछि सम्हालिएकी सुचिताले कुराकानीलाई अगाडि बढाइन् र भनिन्–“भाइ जीवनमा पैसा कमाए हुँला, तर मैले ६ वर्षकी बच्चीलाई बोर्डस राख्दाको पीडाले अहिले पनि छाति चिरिएर आउँछ र मुटु पोल्छ । मैले सेयर बजारका लागि नै भनेर ठूलो त्याग गरेकी छु ।” हाल उनकी छोरी जेएनयुमा गणित विषयमा  फिलोसफी अध्ययनरत छिन् ।

पढेलेखेका सासूससुरा नभए पनि उनीहरुले आफूमाथि गरेको विश्वास र माया समेत उनको जीवनमा स्मरणीय रहेको सुनाउन भ्याइन् । ब्रोकरेज सेवाको व्यस्तताले सासुआमालाई अन्तिम अवस्थामा भेट्न नपाएकोमा अझै पनि उनलाई थकथकी लाग्ने गर्छ, ग्लानी महसुस हुन्छ । 

बजारमा संभावना
अहिलेको सेयर बजार विकास हुने क्रममा रहेको र काम गर्न पनि सहज बन्दै गएकोमा उनी खुशी छिन् । अहिलेको सेयर बजारमा पैसा कमाउने अथाहा संभावना रहेको उनी बताउँछिन् । 

आफूहरु पूर्ण अनलाईन प्रणालीमा काम गर्न आतुर रहेको बताईन् । बैंकसँग पनि अनलाइन सहज कनेक्ट होस् र पूँजीगत लाभ हटाईदिए राहात हुने उनको सुझाव छ । बजार विस्तारका लागि मार्केट मेकरको प्रवेश हुनुपर्ने र म्युचुअल फण्डहरुले पनि  प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनको जोड छ । व्यक्तिगत लगानीकर्ता मात्रैले धानेको सेयर बजारमा संस्थागत लगानीकर्ता पनि आए बजार दिगो हुने र ब्रोकरहरुलाई पनि अन्य सुविधा दिइए यसले सेयर बजारको विकास गर्नेमा उनी ढुक्क छिन् ।

महिलाले खोलेको ब्रोकरेज सेवा भए पनि सुरुवातमा सेयर बजारमा महिलाहरुको सहभागिता अत्यन्त न्यून थियो । तर, २५ वर्षको अन्तरालमा धेरै परिवर्तन आइसकेको छ । अहिले महिला र पुरुष बराबरी नै सेयर बजारमा रहेका उनी बताउँछिन् । उनकोमा लेक्चर, व्यापार–व्यवसायी र विद्यार्थीहरुको पनि घुइँचो नै लाग्ने गरेको छ । 

बजार घटेको बेला पनि उनीमार्फत सेयर कारोबार गर्ने महिला लगानीकर्ताले कमाइरहेकै छन् । उनी भन्छिन्–“पूँजीगत लाभकर महिलाका लागि ५ प्रतिशत मात्र लागे बजारमा महिला सहभागिता बढ्ने थियो र बजार अझै समावेशी हुने थियो ।” कामकाजी महिलाका लागि ११ देखि ३ को कारोबार समय पनि उपयुक्त भएको उनको भनाइ छ ।

अहिलेसम्म उनको ब्रोकर अफिसबाट एकैदिन ३५ करोडसम्मको कारोबार भएको रेकर्ड छ । उनले भनिन्–“तर, यस्तो मौका वर्षमा १–२ पटक मात्र आउँछ ।”

लगानीकर्ताको भीड पनि श्वेता सेक्युरिटिजमा निकै देखिने गरेको छ । बजार घट्दा अन्य ब्रोकरेज हाउसमा चहलपहल पातलिए पनि श्वेतामा चाहि किन त्यस्तो नदेखिएको होला ? हाम्रो जिज्ञासा मेट्दै उनले भनिन्–“हामी पुरानो ब्रोकर हौ, म लगानीकर्ताको गुनासो र उनीहरुको हितप्रति सदैव चनाखो छु ।” उनकोमा सचेतनाका लागि आफ्नै  खर्चमा प्रत्येक बिहीबार आधारभूत र प्राविधिक कक्षामा १ सय लगानीकर्तालाई निःशुल्क क्लास दिइने गरेको रहेछ । ब्रोकरले कमिशन मात्र पचाउने काम गर्दैनन्, लगानीकर्ताको हितका लागि समेत खर्च गर्छन् भन्ने सन्देश आफूले दिइरहेको उनको भनाई छ । 

उनले १४ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेकी छिन् । उनको ब्रोकर कम्पनीले अहिले आफ्नै वेबसाइट बनाइरहेको छ र सचेतनाका लागि बजार खोजमा निस्किने योजना रहेको उनले सुनाइन् ।

अर्थविद् रामेश्वर खनालकी श्रीमती वा सुचिता खनालको रुपमा परिचय दिनुहुन्छ भन्दा उनी भन्छिन्–“आफ्नो परिचय सुचिता खनाल भए पनि रामेश्वर खनालकी श्रीमती भन्दा गर्व लाग्छ ।”

२०४४ सालमा बिहे गरेकी उनले विवाहपछि काठमाण्डौं मैतीदेवीमा डेरामा जीवन चलाउँथिन् । श्रीमान् सरकारी जागिरे तर, निश्चित तलब हुने । त्यतिखेरको समयमा १४ सय तलबमध्ये ९ सय ५० घरभाडामा मात्र बुझाउनुपर्ने । घरबाट धान्न तेल चामल आउँथ्यो, जेनतेन मात्र जीवन चल्थ्यो । उनी डेरावाल जीवनका दुःखदायीसुरुवाती दिन सम्झिन्छिन् ।

त्यसबेला उनलाई काठमाण्डौंमा घर बनाउन सक्दिँन भन्ने लाग्थ्यो । अहिले सेयर लगानीकर्ताको अथाह माया र श्वेता सेक्युरिटीजकै देनबाट भक्तपुरको कौशलटारमा घर, गाडी, जग्गा र मनग्यै आम्दानी भएकामा उनी दंग छिन् । र, सँगै पहिलो महिला ब्रोकरको पहिचान बनेर सयौं लगानीकर्ताको हितमा सेवा गर्न पाएकोमा उनी औधी खुशी पनि छिन्।

(नोट: यो स्टोरी खनालसँग करिब एक वर्षअघि गरिएको कुराकानीबाट तयार गरिएको हो । देशकै पहिलो महिला ब्रोकर खनालको दशैंको टिकाको दिन क्यान्सरका कारण निधन भएको थियो । हामीसँग कुरा गर्नुअघिसम्म उनलाई क्यान्सरको विषयमा थाहा भएको थिएन । पहिलो महिला ब्रोकरप्रति श्रद्धासुमन स्वरुप हामीले यो स्टोरी पुनः प्रकाशन गरेका हौं–सम्पादक)