काठमाण्डौ । मंगलबार सेयर बजारले छलांग मारेको छ । बजार परिसूचक र कारोबार रकमले नै छलांग मारेको हो । नेप्से परिसूचक ३४.२६ अंकले बढेर १६३८.४१ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि १ अर्ब २१ करोड माथिको उचाईमा पुुगेको छ । 

सरकारले ६ प्रदेशका स्थानीय तहमा एकसाथ निकै ठूलो रकम पठाएपछि त्यो खर्च भई बजारमा तरलता बढ्ने, तरलता बढेसँगै ब्याजदर घट्ने तथा कर्जा लगानीका लागि पर्याप्त रकम बैकिंग प्रणालीमा हुने आशा तथा सूचिकृत कम्पनीहरुको वार्षिक प्रगतिविवरण धमाधम सार्वजनिक हुन थालेपछि लाभांशको लोभ र बिमा कम्पनीहरुबाट तोकिएको समयसीमाभित्र चुक्तापूँजी पुर्याउन हकप्रदको बाढी ल्याउने आँकलनका बीच खरिदारी बढ्दा बजारमा उछाल आएको हो । 

‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ताहरुले समेत मंगलबारदेखि खरिदारी बढाएका छन् । निकै लामो समयको अन्तरालपछि बजारमा ठूलो अंकको बढोत्तरी र त्यसैको समानान्तर हिसाबले कारोबारमा पनि उछाल आएको हो । यसरी परिसूचक र कारोबारमा लगातार समानान्तर ढंगको बढोत्तरी हुुनुुले बजार बढ्ने संकेत गर्छ । आइतबारदेखि नै देखिएको यो संकेत मंगलबार अझ मजबुत बनेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबारमा समेत उछाल आएको छ । यहीकारण सेन्सेटिभ इण्डेक्स ६.८६ अंकले बढेको छ। समग्र कारोबारमा समेत सुधार आएका कारण फ्लोट इण्डेक्समा २.५४ अंकको वृद्धि देखिएको छ । 

यो दिन सबैभन्दा बढी बिमा समूहको सूचक बढेको छ । यो समूहको सूचक ४.९३ प्रतिशत(४१६.६३) अंकले बढेको हो । यस्तै, वाणिज्य बैंक, विकास बैंक र बित्त समूहको सूचकमा पनि क्रमशः २७.२५, २५.२ र ५.९५ अंकको वृद्धि देखिएको छ । बैंक र बिमा केन्द्रीत सेयर बजार यी दुवै समूहमा सुधार हुनेबित्तिकै उछालको बाटोमा कुद्न थाल्छ, मंगलबार अवस्था समेत ठ्याक्कै यस्तै देखिएको छ । तथापि, अन्य समूहको सूचक समेत बढेका छन् । होटल, जलविद्युत, उत्पादनमूलक र अन्य समूहको सूचकमा क्रमशः ६१.५२, ३८.९९, २०.७२ र ०.५८ अंकको बढोत्तरी भयो । 

धेरै कारोबार गर्ने कम्पनी
मंगलबार १ सय ५५ कम्पनीका १९ लाख ३५ हजार ५ सय ९० कित्ता सेयर १ अर्ब २१ करोड १७ लाख ८८ हजार ५ सय ७९ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले ९ करोड २९ लाख बढीको कारोबार गर्यो । यस्तै, फरवार्ड माइक्रो फाइनान्सले ५ करोड ९१ लाख कारोबार गर्यो भने नेपाल इन्भेष्टमेन्ट बैंकको ५ करोड बढीको संस्थापक सेयर खरीदबिक्री भयो । नबील बैंकको पनि ३ करोड ७८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेशनल लाइफ इन्स्योरेन्सले ३ करोड ६७ लाख, स्ट्याण्डर्ड चार्टर्डडले २ करोड ९३ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले २ करोड ८६ लाख, नेरुडे लघुवित्त विकास बैंकले २ करोड ७२ लाख, मुक्तिनाथ विकास बैंकले २ करोड ६५ लाख र जलविद्युत लगानी तथा विकास कम्पनीले २ करोड ६० लाख बढीको कारोबार गरे । यसरी धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ३ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, ३ स्थान विकास बैंक र १ स्थान जलविद्युत समूहले कब्जा गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
बजारले उछालको संकेत गरेको दिन ६ कम्पनीका लगानीकर्ता मालामाल भए । हिमालयन डिस्टीलरी लिमीटेड, एनबी इन्स्योरेन्स, कुुबेर मर्चेन्ट एण्ड फाइनान्स लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । यस्तै, राष्टिय बिमा कम्पनी लिमीटेड र प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य क्रमशः ९.३१ र ९.१८ प्रतिशतले वृद्धि भयो । यस्तै, रिलायन्स फाइनान्सको सेयर मूल्य पनि ९ प्रतिशतको हाराहारीमा वृद्धि भयो । 

यो दिन ओम डेभलपमेन्ट बैंक लिमीटेडका सेयर मूल्य १० प्रतिशतको हाराहारीमा घट्यो । मंगलबार १९ कम्पनीले सम्पत्ति गुमाए पनि १ सय ३६ कम्पनीको मूल्य पनि बढेको छ ।