काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भनिएकी सुत्केरी युवतीको मृत्युको कारण कोभिड १९ भाइरस नै रहेको निक्र्यौल भइनसकेको प्रष्ट्याएको छ । 

शनिवारको प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ती सुत्केरी महिलाको मृत्युको कारण यकिन नभइसकेको र स्वाब परीक्षणको काम नसकिएको भन्दै अहिले नै कोभिड १९ का कारण मृत्यु भयो भन्न सकिने अवस्था नरहेको बताएका छन् । 

‘यस सम्बन्धमा विस्तृत विवरण लिइरहेका छौ । थप परीक्षणहरु भइरहेका छन् ।’ डा. देवकोटाले भनेका छन्–‘सबै विवरण प्राप्त भइसकेपछि मात्र आधिकारिक रुपमा केही कुरा भन्न सकिन्छ ।’

डा. देवकोटाका अनुसार ती युवती बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी थिइन । २४ गते नर्मल डेलिभरी भएको थियो । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । त्यसपछि घर गएकी थिइन । घरमा एक्कासी उच्च ज्वरो आई श्वासप्रश्वासमा पनि समस्या भएपछि ती सुत्केरीको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ ठीक नभएको र अवस्था गम्भीर बनेपछि उनलाई धूलिखेल अस्पताल ल्याइएको थियो । सो क्रममा ती सुत्केरीको अस्पताल ल्याउने क्रममा मृत्यु भएको डा. देवकोटाले दाबी गरेका छन् ।