काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपभन्दा कर्जा प्रवाहमा प्रदर्शन गर्दै आक्रामक रणनीतिमा कुनै सुधार गरेका छैनन् । 

आर्थिक वर्ष २०७५/७६ को वार्षिक तथ्यांकले यस्तो देखाएको हो । 

निक्षेप संकलनको दर भन्दा कर्जा प्रवाहको दर बढी हुँदा बैंकिङ प्रणालीमै समस्या आउने गर्छ । कर्जा प्रवाहमा आक्रामक बन्ने बैंकहरु निक्षेप बढाउने कुरामा भने आक्रामक बन्न नसकिरहेको प्रवृति समेत यसले उजागर गर्दछ । 

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक आर्थिक तथा वित्तीय स्थिति अनुसार समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप १९.२ प्रतिशतले बढेको थियो । २०७६ असारमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ९.७ प्रतिशत, ३२.८ प्रतिशत र ४६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ९.३ प्रतिशत, ३४.५ प्रतिशत र ४४.८ प्रतिशत रहेको थियो ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.३ प्रतिशत रहेको छ । २०७५ असार मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.५ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३५.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह १७.९ प्रतिशतले बढेको छ ।

२०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६४.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३.५ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७५ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.७ प्रतिशत र १४.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा ४२.५ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २०.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २२.२ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३२.८ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २४.३ प्रतिशतले बढेको छ ।

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३२.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १०.९ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.७ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १२ प्रतिशतले, मार्जिन प्रकृतिकोकर्जा १०.५ प्रतिशतले र हायर पर्चेज कर्जा ५.८ प्रतिशतले बढेको छ ।