काठमाण्डौ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् ।

डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन् ।

सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पुर्व कृषिमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसंगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे चार महिना भित्र सम्पन्न हुने जानकारी दिए ।

उर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख शुसिल आचार्यसहित स्थानिय जनप्रतिनिधीसंग समेत छलफल गरेका थिए । उनले आयोजनाका लागि स्रोत जुटाउने काम जारी रहेको भन्दै यसै आर्थिक वर्षभित्र परियोजना अघि बढाउने बताए । मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरे ।

मन्त्री पुनले भने, ‘यो बहुउद्देश्यिय परियोजना हो,तयारी अवस्थामा रहेकोले यो परियोजना सरकार,प्रधानमन्त्री र मन्त्रालयको प्राथमिकतामा रहेको छ ।’  

निर्माण अवधि ५ बर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजनाको विद्युत गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाईतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ । 

उनले उक्त परियोजनालाई अघि बढाउन स्थानिय जनता र जनप्रतिनीधीहरुलाई समेत सहयोग गर्न आग्रह गरे । मन्त्री पुनले  विकास र पुर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगी हुने धारणा राखे ।

‘सुनकोशी मरिन डाईभर्सन परियोजना तराई मधेशको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्दा तरक्की नै हुन्छ, यसले हिमाल,पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ ।’ मन्त्री पुनले कार्यक्रममा भने ।

मन्त्री पुनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधीको प्रयोग गर्ने बताए । ४ महिनाभित्र डिटेल रिपोर्ट आइसकेपछि यहि आर्थीक वर्षभित्र काम अघि बढाउने जानकारी समेत मन्त्री पुनले दिए ।  मन्त्री पुनले आयोजनाको सँइटको निरीक्षण समेत गरेका थिए ।

सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको  १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।  

उक्त आयोजनाका प्रमुख शुसिल आचार्यले उक्त परियोजनाबाट दुई नम्बर प्रदेशलाई खानेपानीको लागि पानी उपलव्ध गराउने लक्ष्य समेत राखिएको बताए ।  

त्यसअघि दनुवार सांस्कृतिक महोत्सव तथा दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उर्जामन्त्री पुनले ३ बर्षभित्र देशका सबै भागमा बिजुलीको पहुंच पुर्याउने घोषणा गरे । उनले प्राकृतिका स्रोतको उपयोग जनताले नै गर्न पाउनुपर्ने भन्दै त्यसका लागि जनताको सहभागितामा आकर्षक जलविद्युत आयोजना छिट्टै सुरु हुने बताए । मन्त्री पुनले त्यसका लागि ३५ सय मेगावाटका १७ वटा आयोजना छिट्टै सुरु गरिने जानकारी दिए ।