काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता निकै उतार बढाव भएको छ । समग्रीमा गत साताको तुलनामा यो साता सुन भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको छ ।

सुनको भाउ कारोबारको अन्तिम दिन शुक्रबार पुनः तोलामा १ हजार रुपैयाँले घटेर छापावाल प्रतितोला ७२ हजार ४०० र तेजावी ७२ हजार १०० रुपैयाँ कायम भएको छ । योसँग भदौको साता सुनको भाउ तीन दिन बढेको छ भने दुई दिन घटेको छ । एक दिन भने सुनको भाउ स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार भदौको दोस्रो साता कारोबारको पहिलो दुई दिन सुनको भाउ तोलामा २ हजार २ रुपैयाँले बढ्यो । जसअनुसार आइतबार पनि एकै दिन तोलामा १ हजार २०० रुपैयाँले सुनको भाउ बढेको थियो । बजारमा आइतबार छापावाल सुन तोलाको ७२ हजार ५०० र तेजाबी सुन तोलाको ७२ हजार २०० मा कारोबार भएको थियो ।

त्यस्तै कारोबारको दोस्रो दिन सोमबार पनि सुनको भाउ तोलामा एकैपटक १ हजार रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७३ हजार २०० रुपैयाँ पुगेको थियो। यो नेपालकै इतिहासमा हालसम्म उच्च मूल्य हो ।

यसैगरी कारोबारको तेस्रो दिन मंगलबार सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेर छापावाल सुन ७२ हजार ६०० र तेजाबी सुन ७२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । चौथो दिन बुधबार भने सुनको भाउ स्थिर रहेको थियो ।

यो साताको कारोबारको पाँचौँ दिन बिहीबार फेरि सुनको भाउ तोलामा एकैपटक ८०० रुपैयाँले बढेर छापावाल प्रतितोला ७३ हजार ४०० रुपैयाँ र तेजाबी ७३ हजार १०० रुपैयाँ कायम भएको थियो । कारोबारको अन्तिम शुक्रबार पुनः तोलामा १ हजार रुपैयाँले घटेर छापावाल प्रतितोला ७२ हजार ४०० र तेजावी ७२ हजार १०० रुपैयाँ कायम भएको छ ।

समग्रमा भन्दा अघिल्लो साताको तुलनामा यो साता सुनको भाउ तोलामा १ हजार १ सय रुपैयाँले बढेको हो । सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीहरु बताउँछन् ।

अमेरिका–चीन व्यापार युद्ध, जम्मु–काश्मीर मामिला तथा डलरको भाउ बढ्दै जानुले पनि सुनको भाउ बढिरहेको विश्लेषकहरु बताउँछन् ।

यसैगरी चाँदीको भाउ पनि कारोबारको अन्तिम दिन तोलामा १० रुपैयाँले घटेर ८८५ रुपैयाँ कायम भएको छ । चाँदी प्रतितोला बिहीबार ८९० रुपैयाँ रहेको थियो ।