काठमाण्डौ । विगत चार दिनदेखि सुनको भाउ लगातार घट्दै गइरहेको छ । यस अवधिमा सुन तोलामा १ हजार रुपैयाँले घटिसकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबारयता सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । गत बिहीबार सुनको भाउ प्रतितोला छापावाल ७१ हजार रुपैयाँ र तेजाबी ७० हजार ७०० रुपैयाँ थियो । महासंघका अनुसार आज सोमबारसम्म आइपुग्दा सुनको भाउ प्रतितोला छापावाल ७० हजार रुपैयाँ र तेजाबी ६९ हजार ७०० रुपैयाँमा झरेको छ ।

सुनको भाउ सोमबार पनि तोलामा २०० रुपैयाँले घटेको हो । सुनको भाउ हिजो आइतबार एकैदिन तोलामा ६०० रुपैयाँले घटेर प्रतितोला छापावाल सुन ७० हजार २०० रुपैयाँ र तेजाबी सुन ६९ हजार ९०० रुपैयाँमा झरेको थियो ।

गत साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल सुन ७० हजार ८०० र तेजाबी सुन ७० हजार ५०० रुपैयाँ थियो । गत शुक्रबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो ।

यसैगरी चाँदी पनि प्रतितोला आज सोमबार तोलामा ५ रुपैयाँले घटेर ८४० रुपैयाँ कायम भएको छ । हिजो आइतबार १५ रुपैयाँले घटेर ८४५ रुपैयाँ कायम भएको थियो । गत साता शुक्रबार चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो ।