काठमाण्डौ । नेपाली बजारमा यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ ।

कोरोनाभाइरसको चपेटामा परेको विश्वबजारमा सुरक्षित लगानीका लागि सुन लगानीकर्ताको मुख्य रोजाइ बनेसँगै यसको माग र भाउ बढिरहेको बेला नेपालमा भने घटेको हो । सुनको भाउ सोमबार र मंगलबार स्थिर रहँदै बुधबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले घट्दै प्रतितोला छापावाल ७५ हजार ६०० रुपैयाँ र तेजाबी ७५ हजार ३०० रुपैयाँ कायम भएको छ । गत सोमबार सुन तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँ कायम भएको थियो । यो साता कारोबारको पहिलो दिन प्रतितोला छापावाल सुन ७५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यो साता कारोबार तेस्रो दिन मंगलबार भने सुनको भाउ स्थिर रहँदै प्रतितोला छापावाल ७६ हजार रुपैयाँ र तेजाबी ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

विश्वबजारमा कोरोनाभाइरसका कारण सुनको भाउ प्रतिऔँस १ हजार ६०० डलरको आसपासमा रहेको छ । कोरोनाभाइरसले अन्य क्षेत्रमा लगानी असुरक्षित भएपछि लगानीकर्ताहरुले अहिले धमाधम सुनमा लगानी गरिरहेका छन् । यसले गर्दा सुनको मागसँगै भाउ पनि बढेर विश्वबजारमा प्रतिऔँस सुनको भाउ २ हजार डलरसम्म पुग्ने प्रक्षेपण गरिएको छ । 

यदि कोरोनाभाइरस बेलैमा नियन्त्रण नभए अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने निश्चित रहेको विश्लेषकहरु बताउँछन् । यदि सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्यो भने नेपाली बजारमा सुनको भाउ प्रतितोला ९४ हजार रुपैयाँ पुग्ने निश्चित छ । किनकि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि पर्छ ।