काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको तोलाको ७१ हजार ५०० रुपैयाँ कायम भएपछि यो अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।

लगातारको बढेको सुनको भाउ हिजो बुधबार ह्वात्तै तोलामा ७०० रुपैयाँले घटे पनि फेरि बिहीबार एकैपटक १ हजार २०० रुपैयाँले बढ्दै नेपालको इतिहासमा अहिलेसम्म उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा प्रतितोला छापावाल सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपयाँमा कारोबार दर कायम भएको छ ।

यसअघि गत मंगलबार तालामा एकैपटक १ हजार रुपैयाँले बढेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

गत शुक्रबारदेखि स्थिर रहँदै आएको सुनको भाउ मंगलबार एकैपटक १ हजार रुपैयाँ बढेको थियो ।

यसअघि गत शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार र तेजाबी ६० हजार ७०० रुपैयाँ रहेको थियो । त्यसपछि आइतबार र सोमबार सुनको भाउ स्थिर रहेको थियो ।

गत दुई साताको अवधिमा सुनको भाउ तोलामा ५ हजार ७०० ले बढेको छ।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् । यद्यपि बुधबार सुनको भाउ घटेपछि पुनः बढ्ने सक्ने व्यवसायीहरुले अनुमान छ ।

लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ । उता व्यवसायीहरुले भने सर्वसाधारणबाट सुन खरिद नगरेको उपभोक्ताको गुनासो छ । व्यवसायीहरुले भने उपभोक्ताको गुनासोलाई नकार्दै सुन खरिद–बिक्री भइरहेको दाबी गरिरहेका छन् ।