काठमाण्डौ । नेपाली बजारको इतिहासमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार तोलामा एकैदिन १२ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७२ हजार ५००  र तेजाबी सुन प्रतितोला ७२ हजार २०० रुपैयाँ पुगेको हो । यो मूल्य नेपालको इतिहासमै उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि गत बुधबार तोलामा ३०० रुपैयाँले बढ्दै नेपाली बजारमा प्रतितोला छापावाला सुन सुन ७१ हजार ३०० रुपैयाँ र तेजाबी ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि लगातार दुई दिन बिहीबार र शुक्रबार स्थिर रहेको सुनको भाउ आइतबार एकैपटक १२ सय रुपैयाँले बढेको हो ।

गत आइतबार सुनको भाउ तोलामा एकैदिन ५०० रुपैयाँले घटेर छापावाला सुन ७१ हजार रुपैयाँ र तेजाबी सुन ७० हजार ७०० रुपैयाँ कायम भएको थियो । त्यसपछि लगातार सोमबार र मंगलबार सुनको भाउ स्थिर रहँदै  बुधबार तोलामा ३०० रुपैयाँले बढेको थियो ।

अघिल्लो बिहीबार प्रतितोला छापावाला सुन ७१ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७१ हजार २०० रुपैयाँ कायम भएको थियो । जुन नेपालको इतिहासमा सुनको मूल्य इतिहासमै उच्च थियो।

अमेरिक–चीन व्यापार युद्ध, भारत–पाकिस्तान राजनीतिक तनाव आदिका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै जानुले पनि नेपाली बजारमा सुनको भाउ चम्केको जानकारहरु बताउँछन् ।सुनको भाउ अझै बढ्ने सक्ने व्यवसायीहरुको अनुमान छ ।

लगातार सुनको भाउ बढ्न थालेपछि बजारमा किन्नेभन्दा बेच्नेको चाप बढेको छ । सुन कारोबारमा पनि केही दिनयता मन्दी छाएको छ ।