काठमाण्डौ । पहेँलो धातु सुनको भाउले २०७० चैतमा कायम भएको उच्च बिन्दूलाई समेत पार गर्दै शुक्रबार नयाँ किर्तिमान बनाएको छ । 
 

तोलामा ५ सय रुपैयाँले बढेर शुक्रबार सुनको भाउ ५६ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउले २ वर्षअघिको रेकर्ड तोड्दै प्रति तोला ३ सय बढेर ५६ हजार पुगेको थियो । 
 

२०७० चैतमा सुनको भाउ प्रति तोला ५५ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यसदेखि हालसम्म सुनको भाउ ५५ हजार ८ सय नाघेको थिएन । २ वर्षअघि कायम भएको उच्च विन्दू समेत पार गरी सुनको भाउले नयाँ किर्तिमान बनाएसँगै सुन सञ्चित गर्नेहरु मालामाल भएका छन् । 
 

अघिल्लो साता केही घटबढ भएको सुनको भाउ यो साताको आइतबार र सोमबार प्रति तोला ५५ हजारमा अडिएको थियो । त्यसपछि चाहि सुनको भाउ बढ्न थालेको हो । दुई साताअघि पनि एक्कासी बढ्न थालेको सुनको भाउ अघिल्लो साताको केही दिन केही घटेर फेरि उकालो लाग्ने क्रम सुरु भएको थियो । साताको पहिलो २ दिन स्थिर रहेको सुन मंगलबारदेखि बढ्न थालेको र बुधबार र बिहीबार स्थिर रही शुक्रबार पुनः बढेको हो । 
 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उकालो लागेको, अमेरिकी डलरसँग नेपाली रुपैयाँको सटही दर समेत उच्च भएको तथा विवाहको लगन समेत रहेका कारण स्थानीय बजारमा सुनको मूल्य उकालो लागेको विश्लेषकहरुले बताएका छन् । 
भाउ लगातार उकालो लागेपछि २ महिनाको अवधिमा सुन प्रति तोलामा ९ हजार ५ सय रुपैयाँ महंगो भइसकेको छ । पछिल्लो तीन सातामा मात्र सुन प्रति तोला ५ हजार ५ सय रुपैयाँ बढेको छ । 

 

कात्तिकको पहिलो साता सुनको भाउ प्रति तोला ४७ हजार रुपियाँसम्म ओर्लिएको थियो । त्यसपछि उकालो लाग्न थालेको भाउ माघ लागेपछि ६ हजार ५ सय रुपैयाँ महंगो भइसकेको छ ।   
 

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको समस्या र घट्दो तेलको मूल्यमा  अपेक्षित सुधार नभएका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अझै बढ्ने संभावना छ । 
 

सुनको भाउ बढे पनि चाँदीको भाउ चाहि मंगलबारदेखि शुक्रबाारसम्म स्थिर अर्थात तोलाको ७ सय ३५ रुपियाँमा कारोबार भइरहेको छ ।