काठमाण्डौ । लगानीकर्तालाई 'सुनको अण्डा' दिने आयोजनाको रुपमा चर्चा गरिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भौतिक प्रगतिले गुणात्मक फड्को मारेको छ । 

सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको हो । 

यो आयोजनालाई सरकारले विशेष प्राथमिकताका साथ निर्माण गरिरहेको छ । सरकारीकै मन्त्रीहरुले समेत 'सुनको अण्डा' दिने आयोजनाको रुपमा चर्चा गरेका यो कम्पनीले केही समयअघि सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको थियो । आइपीओमा अचाक्ली आवेदन परेको थियो । 

आइपीओ बाँडफाँडपछि दोश्रो बजारमा समेत यो कम्पनीको सेयर सूचिकृत भइसकेको छ । कारोबार सुरु भएदेखि केही दिनसम्म यो कम्पनीले दोश्रो बजार मेकरको रुपमा काम गरेको थियो । तर, पछिल्लो कालमा अपेक्षित रुपमा यो कम्पनीको सेयर मूल्य बढ्न भने सकेको छैन । 

आयोजनामा निर्माणमा भएको ढिलासुस्ती र यसप्रति लगानीकर्तामा देखिएको संशयका कारण समेत अपर तामाकोशीको सेयर मूल्य अपेक्षित बढ्न नसकिरहेको बेला भौतिक प्रगतिमा देखिएको गुणात्मक प्रगतिको खबर बजारका लागि 'शुभ' बन्नसक्छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत हुन पुगेको छ । 

पछिल्लो समयमा आयोजनाको भौतिक प्रगतिमा निर्माण व्यवसायीका कारण उल्झन देखिएपछि मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिएका थिए । उर्जामन्त्रीको एक्सनले पछिल्लो समय राम्रै काम गरेको देखिएको छ । 

उर्जामन्त्रीको निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरेका छन् । 

हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ । आगामी कात्तिक मसान्तसम्म सो आयोजनाको निर्माण सक्ने गरी काम भइरहेको पत्रकार सम्मेलनमा बताइएको छ । 

‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको मन्त्री पुनको भनाइ छ।

आयोजनामा देखिएको समस्या समाधानका लागि गरिएको पहल सार्थक हुँदै गएको जानकारी दिँदै मन्त्री पुनले माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने बताए । आयोजना पूर्णतः स्वदेशी लगानीमा निर्माण भइरहेको छ ।