काठमाण्डौ । नेपालको इतिहासमा सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ बुधबार एकैदिन तोलामा १ हजार रुपैयाँले बढेर नेपाली बजारमा अहिलेसम्मकै उच्च भाउको रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १ हजार रुपैयाँले बढेर सुनको भाउ प्रतितोला छापावाल ७६ हजार ५०० रुपैयाँ र तेजाबी ७६ हजार २०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च हो ।

हिजो मंगलबार सुनको भाउ प्रतितोला छापावाल ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ थियो । जुन अघिल्लो दिनको तुलनामा तोलामा ५०० रुपैयाँले कम थियो । नेपाली बजारमा सोमबार सुन प्रतितोला छापावाल ७६ हजार रुपैयाँ तेजाबी ७५ हजार ७०० रुपैयाँ थियो ।

पुस १ गतेयता सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँले बढिसकेको छ । खाडीमा अमेरिकाका कारण उत्पन्न तनावका कारण अन्तर्राष्ट्रिय बजारमा समेत सुन बढ्न टेवा पुगेको विज्ञहरु बताउँछन् । यसको असर नेपालमा पनि देखिएको उनीहरुको ठम्याइ छ ।

उता चाँदीको भाउ पनि हिजोको तुलनामा तोलामा २० रुपैयाँले बढेर ९२० रुपैयाँ पुगेको छ ।

लगातार सुन र चाँदीको भाउ आकासिएसँगै नेपाली बजारमा कारोबार निकै प्रभावित भएको छ । बजार अहिले सुन खरिद गर्नेभन्दा पनि बेच्नेको चाप बढ्न थालेको छ । जसका कारण सामान्य अवस्थाभन्दा ७५ प्रतिशत कारोबारमा गिरावट आएको व्यवसायीहरु बताउँछन् ।