काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ यो साता अन्तिम कारोबार दिन शुक्रबार पनि घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा एकैदिन ९०० रुपैयाँले घटेको छ । इरान र अमेरिकाबीच उत्पन्न तनावका कारण सुनमा लगानी बढ्दा मागमा आएको बढोत्तरीले लगातार भाउ आकासिँदै गएको थियो ।

इरान र अमेरिकाबीचको तनाव साम्य हुन सक्ने संकेतसँगै हिजो बिहीबारदेखि लगातार भारीमात्रा सुनको भाउमा गिरावट आइरहेको छ । शुक्रबार तोलामा ९०० रुपैयाँले घटेसँगै प्रतितोला छापावाल सुन ७४ हजार ६०० र तेजाबी सुन ७४ हजार ३०० रुपैयाँमा झरेको छ ।

बिहीबार एकैपटक तोलामा १ हजार रुपैयाँले घटेको थियो । बिहीबार सुन प्रतितोला छापावाल ७५ हजार ५०० रुपैयाँ र तेजाबी ७५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

अस्ति बुधबार तोलामा एकैपटक १ हजार रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको थियो । यो भाउ नेपाली बजारमै अहिलेसम्मको सुनको सर्वाधिक मूल्य हो ।