काठमाण्डौ । सुनको भाउमा पहिरो जाने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै प्रतितोला छापावाल सुन ७५ हजार रुपैयाँ र तेजाबी सुन ७४ हजार ७०० रुपैयाँमा झरेको छ। 

लगातार घटिरहेको सुनको भाउमा हिजो बुधबार तोलामा १ हजार रुपैयाँ बढेको थियो। यो बढाइसँगै बुधबार प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ कायम भएको थियो।

कारोबारको पहिलो दिन आइतबार सुनको भाउमा तोलामै १ हजार ५०० रुपैयाँको गिरावट आएको थियो भने दोस्रो दिन सोमबार तोलामा ५०० रुपैयाँ बढेको थियो। 

कारोबारको तेस्रो दिन मंगलबार भने सुनको भाउ तोलामा एकैदिन २ हजार रुपैयाँको गिरावट आएको थियो। 

उता चाँदीको भाउमा बिहीबार तोलामा एकैदिन ३० रुपैयाँको गिरावट आएको छ। यो गिरावटसँगै चाँदी प्रतितोला ६८० रुपैयाँमा झरेको छ। 

चाँदीको भाउ मंगलबार र बुधबार भने तोलाको ७१० रुपैयाँ रहेको थियो। 

विश्वव्यापी महामारी कोरोनाभाइरसको प्रभावका कारण अन्तर्राष्ट्रियबजारमा अहिले सुन लगातार घटिरहेको छ। यसको प्रत्यक्ष असर नेपालमा पनि परेको सुन व्यापारीहरु बताउँछन्। कोरोनाको प्रभाव कायमै रहने हो भने सुनको भाउ अझै तल झर्न सक्ने उनीहरुको ठम्याइ छ।